विशेष महाधिवेशनको माग फिर्ता हुन्न : महामन्त्री शर्मा

महामन्त्री शर्माले भने– 'कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।'

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Demand for special general convention will not be withdrawn: General Secretary Sharma

काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशन अनिवार्य रहेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । महाधिवेशन नहुने भन्ने व्यवस्था पार्टी विधानमा नरहेको शर्माले स्पष्ट पारेका छन् । 

उदयपुरको गाईघाटमा आयोजित कार्यक्रममा महामन्त्री शर्माले पार्टीसामू विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । 'कांग्रेसको विधान भन्छ, विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन, त्यसैले विशेषको `ब्याक गियर´ हुन्न । ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ,' उनले भने, 'सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ । कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।'

पार्टीमा कुन नेताले के भन्छन् भन्ने कुरा मुख्य नभएको शर्माले बताए । 'दुई महामन्त्री के भन्छन् या ७ भाइ के भन्छन्, अब त्यो मुख्य कुरा होइन । असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मुल प्रश्न हो,' शर्माले भने, 'उहाँको वक्तव्यमा `मंसिरमा महाधिवेशन´ छुट्नु हुन्न थियो । त्यो छुट्नु गल्ती प्रमाणित भएको छ । पार्टी र देशको आजको समाधानका लागि सभापतिले निर्णायक पहलकदमी लिनुपर्छ । उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने मलाई विश्वास छ ।'

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नियमित भन्ने विषयमा विवाद रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully