प्रदेश सरकार आफ्नो लक्ष्यमा हिँडिरहेको छ : मुख्यमन्त्री बानियाँ

सरकार गठन भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री बानियाँले मंगलबार हेटौंडामा सुशासन र खर्च कटौतीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको दाबी गरेका हुन् ।

मंसिर ९, २०८२

सुवास विडारी

Provincial government is moving towards its goal: Chief Minister Baniya

मकवानपुर — बागमती प्रदेश सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् ।

सरकार गठन भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री बानियाँले मंगलबार हेटौंडामा सुशासन र खर्च कटौतीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको दाबी गरेका हुन् । ‘सरकार गठन भएको भर्खर सय दिन पूरा भएको छ । यसबीचमा विभिन्न चाडपर्व र जेन-जी आन्दोलनका कारण काम गर्ने अवस्था थिएन । जसका कारण देखिने गरी धेरै काम गर्न सकिएको छैन । तर, पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको छ ।’

उनले जेन-जी आन्दोलनबाट भएको क्षतिका कारण मन्त्रालय स्थापना, सञ्चालन र बजेट कार्यान्वयन चुनौतीपूर्ण बनेको बताए । उनले सत्तारुढ एमालेसँग कांग्रेसको सम्बन्ध राम्रो रहेको बताए । ‘समाचारमा आए जस्तो सत्तारुढ दलबीच सम्बन्ध बिग्रिएको छैन । सम्बन्ध बिग्रिएको भए हामी एउटै मञ्चमा बस्दैन थियौं,’ उनले भने । 

मुख्यमन्त्री बानियाँले छिट्टै प्रदेशसभा बैठक राख्ने तयारी भइरहेको जानकारी दिए । ‘प्रदेशसभा भवन जलेका कारण बैठक राख्न अप्ठ्यारो भएको हो । अब भवन निर्माण सम्पन्न भएको छ । बैठक छिट्टै बस्छ,’ उनले भने ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार अलपत्र रहेको गौरवको आयोजना र कार्यविधि निर्माणमा ढिलाइ भएका कारण अगाडि नबढेका कामहरु तत्काल सकाउनसमेत मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully