पुस मसान्तभित्र नियमित महाधिवेशन हुन नसके सुवर्ण शमशेर पथ पछ्याउन देउवालाई शर्माको आग्रह

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन ।’

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Sharma urges Deuba to follow the golden path of Shumsher if regular general convention cannot be held by mid-December

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताइरहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने अझै पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन् ।

पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गरिनुपर्ने उनको माग छ । ‘महाधिवेशन तयारी क्रममा केही दिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ उनले सोमबार इलाम सदरमुकाममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने ।

शर्माले फागुन २१ को निर्वाचन पनि सर्न सक्ने अनुमान व्यक्त गरेका छन् । ‘समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ को चुनाव पनि केही पछि सर्न सक्छ, शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकूलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनीतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुनेछ,’ उनले भने ।

शर्माले नियमित महाधिवेशनमा नजाने हो भने दोस्रो विकल्पमा २०१४ सालमा सुवर्ण शमशेरको पथ समात्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

२०१४ सालमा सभापति रहेका सुवर्ण शमशेरले विशेष महाधिवेशनमार्फत बीपी कोइरालालाई सभापति हस्तान्तरण गरेका थिए । ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ,’ शर्माले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन ।’

कान्तिपुर संवाददाता

Link copied successfully