नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने, नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरबाट पार्टीले चुनाव लड्ने थापाको भनाइ छ ।
What you should know
काठमाडौँ — कांग्रेसको महाधिवेशन निर्वाचनअगाडि कि पछाडि भन्ने विवाद अझै सल्टिएको छैन ।
यहीबीच नेतृत्व हस्तान्तरणको प्रक्रियामा थप आशंका बढाउने गरी माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर राखेर दल दर्ता भएपछि कांग्रेसभित्र महाविधेशको विवाद झनै चुलिएको छ ।
कांग्रेस महामन्त्री गगन थापाले भने निर्वाचनअगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्वमा चुनाव लड्ने बताएका छन् । ‘बिहानै धेरै साथीहरुले सोधिरहनुभएको छ- पार्टीले वर्तमान सभापतिज्युकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनेँ- होइन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरबाट पार्टी चुनाव लड्छ ।’
आइतबार निर्वाचन आयोगमा देउवाकै नाम पठाउनुको अर्थ हो, आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नै हस्ताक्षरबाट टिकट वितरण गर्नु । निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशनले नेतृत्व परिवर्तन नगरेमा देउवाकै नेतृत्वमा टिकट वितरण हुनेछ । तर, महामन्त्री थापाले भने नियमित नभएमा विशेष महाधिवेशनबाट पनि नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् ।
देउवाले असोज २८ को केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सक्रिय राजनीति त्यागेको घोषणा गरेका थिए । सँगै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आफैले गरेको यो घोषणाप्रति सन्देह हुनेगरी देउवाले खड्काको नभएर आफ्नै नाम र हस्ताक्षर पठाउनुका पछि सक्रिय राजनीतिमा पुनः फर्कन चाहेको सन्देश दिएका छन् ।
संस्थापन पक्षका पूर्वपदाधिकारीसहित बहुमत सदस्यले निर्वाचनअगाडि कुनै पनि हालतमा महाधिवेशन गर्न नहुने अडानमा थिए/छन् । त्यसलाई बल पुग्ने गरी निर्वाचन आयोगमा देउवाको नाम गएपछि उनी आफैले पनि निर्वाचनअगाडि महाधिवेशन नगराई आफै टिकट वितरण गर्न चाहेको देखिन्छ । त्यसलाई संकेत गर्दै महामन्त्री थापाले भनेका छन्, ‘यहि कारण हो, हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको । अब विशेष महाविधेशको विकल्प छैन । कुरा स्पष्ट छ । अलमलमा नपरौं ।’
कानुनतः निर्वाचन आयोगमा नाम पठाउँदा सभापतिकै नाम आवश्यक पर्दैन । केन्द्रीय कार्यकारणी समितिका पदाधिकारी जसको नाम पठाउँदा पनि हुने व्यवस्था छ । त्यसमा पनि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेको अवस्थामा आफ्नै नाम नपठाएर खड्काको नाम पठाउन सक्थे । कार्यवाहक सभापति खड्काको नाम पठाउँदा उनले औपचारिक रुपमा नै सक्रिय राजनीति छाड्न खोजेको सन्देशलाई अझ बल पुग्थ्यो । तर, त्यसो नगरी उनले आफ्नै नाम र हस्ताक्षरको नमुनासहित दल दर्ता गर्नुका पछाडि सक्रिय हुने मनसाय रहेको बुझाइ थापाको छ ।
