सबैले चाहने हो भने नियमित महाधिवेशन नै गर्न सकिन्छ : महामन्त्री शर्मा

नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको अन्तिम विकल्प रहेको महामन्त्री शर्माको भनाइ छ।

मंसिर ८, २०८२

लक्ष्मी गौतम

If everyone wants, regular general convention can be held: General Secretary Sharma

पाँचथर — नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अझै पनि पुस महिनाभित्रै पार्टीको नियमित महाधिवेशन गर्न सम्भव हुने बताएका छन्।

सोमबार इलाम बजार आइपुगेका शर्माले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको काँग्रेसको कार्यालय अवलोकन पश्चात् कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

महामन्त्री शर्माले समय घर्किँदै गए पनि नियमित महाधिवेशन सम्भव रहेको टिप्पणी गर्दै नियमित महाधिवेशनका लागि देशभरका नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए । उनले नियमित महाधिवेशनका लागि अविलम्ब कार्यतालिका बनाउनु पर्ने धारणा राखे । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको विकल्प अन्तिम भएको उनको भनाइ थियो।

'पहिलो विकल्प पुस अन्तिम साताभित्र नियमित महाधिवेशन र त्यो नभए मंसिरमै विशेष महाधिवेशन गर्ने दुवै विकल्प खुल्ला छन्, जसका लागि पार्टी सभापति शेरबहादुर देउवाले छाती खुल्ला पारेर २०८२ मंसिरभित्रै विशेष महाधिवेशन उद्घाटन गर्ने हिम्मत गर्नुपर्छ, विशेष महाधिवेशनबाट आएको कार्यसमितिको नेतृत्वमा चुनावमा होमिएको काँग्रेसले एक वर्षपछि २०८३ मंसिर भित्रै पुनः नियमित महाधिवेशन गर्नुपर्छ,’ उनले भने ।

शर्माले अघि भने, 'मंसिर मसान्तभित्र विशेष महाधिवेशनको उद्घाटन गरेर २०१४ सालका सुवर्ण शमशेरले झैँ मार्गप्रशस्त गर्दै दोस्रो सुवर्ण शमशेर बन्ने अवसर सभापतिजीलाई छ, जसका लागि उहाँले छाती फराकिलो पार्नुपर्छ।’ जेन-जी आन्दोलनका क्रममा इलामस्थित नेपाली काँग्रेसको जिल्ला कार्यालय भवन जलाइएको थियो । सोही भवनको अवलोकन गर्न आएका उनले कार्यकर्ताहरूलाई जिम्मेवार र संयम बन्न सुझाव दिए । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully