विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको १४ राजनीतिक दलमध्ये १२ राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उद्देश्यले दल दर्ताको निवेदन दिइसकेका छन् ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि ६४ राजनीतिक दल सोमबारसम्म निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि अझै दुई दिन बाँकी छ । उक्त अवधिमा निर्वाचनमा भाग लिन चाहने दलहरूको संख्या अझै थपिने निश्चित छ ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको १४ राजनीतिक दलमध्ये १२ राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उद्देश्यले दल दर्ताको निवेदन दिइसकेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी(तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल एकीकरणपछि गठित), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपालले आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिइसकेका छन् ।
त्यस्तै, अघिल्लो प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी दर्ता प्रक्रियामा पुगिसकेका छन् । विघटित प्रतिनिधिसभामा सिट संख्याका हिसाबले दोस्रो स्थानमा रहेको एमाले र पाँचौ नम्बरको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा चुनावी प्रयोजनका लागि दर्ता निवेदन दिन बाँकी छ । एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग उठाइरहेको छ । तर, दल दर्ताको तयारी भने गरेको बुझिएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आवश्यकता अनुसार दललाई अयोगमा अद्यवाधिक गरिने बताए । ‘अझै समय बाँकी छ । १० गते बेलुका ५ बजे समयको समय छ,’ उनले भने ‘संवैधानिक रुपमा गठित राजनीतिक दलले आफूलाई समयभित्रै अद्यावधि गर्छ ।’ राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दर्ताका लागि पार्टीले आवश्यक तयारी गरिसकेको बताए । उनले मंगलबार दल दर्ताका प्रक्रियाका लागि आयोग जाने जानकारी दिएका छन् ।
संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ ले आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने भनेको छ । त्यसै अनुसार २१ फागुनको निर्वाचनका लागि आयोगले दल दर्ताका लागि १–१० मंसिरको समय निर्धारण गरेको छ । सोमबारसम्म आयोगमा दर्ता भएका दलहरूको संख्या १ सय ३५ पुगेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलले निर्वाचन प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने बताउँछन् । आयोगमा दर्ता रहेका १ सय ३५ राजनीतिक दलमध्ये सोमबारसम्म ६४ दलले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन्छु भनेर निवेदन दिएको उनले बताए । दलहरुले पेस गरेको कागजातहरुको अध्ययनपश्चात आयोगले दर्ता गरिएका दलहरुको नामलाई अन्तिम रूप दिनेछ ।
यसअघि निर्वाचनलाई बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्दले पनि आयोगमा राजनीतिक दल दर्ता गराएर सोमबार निर्वाचनमा भाग लिने प्रयोजनका लागि पनि निवेदन दिएका छन् । चन्दको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी) नामको दल दर्ता भइसकेको छ ।
प्रतिनिधिसभा निर्वाचन घोषण भएयता १६ वटा नयाँ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । सोमाबार मात्रै तीनवटा राजनीतिक दलले दल दर्ताको प्रमाणपत्र पाएको छ । अधिवक्ता रमणकुमार नेतृत्वको जनादेश पार्टी नेपाल, गणेशकुमार मण्डलको नेतृत्वमा सार्वभौम नागरिक पार्टी र श्रृया केसीको नेतृत्वमा नागरिक सेवा पार्टी दर्ता भएको छ । यसअघि रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल, खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल, सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता भइसकेको छ । त्यस्तै, अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी, प्रशान्त सिंहको पिपुल फर्स्ट पार्टी, योगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय उर्जाशील पार्टी, नेपाल, दर्ता भएको छ ।
त्यसैगरी अकबर खानको नेतृतवमा राष्ट्र निर्माण दल नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी), रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, राजेश प्रतेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, कविर सोपको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी, नेपाल, दिनेशराज प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी र हर्कराज राईको नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता भएको छ ।
