नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दै एमाले

विगतदेखि नै युवा र विद्यार्थीका अलग-अलग संगठन सक्रिय भए पनि एमालेले पार्टी र नेताको सुरक्षाको लागि भन्दै नेशनल भोलेन्टियर फोर्स गठन गर्न लागेको हो। 

मंसिर ५, २०८२

गंगा बीसी

UML announces National Volunteer Force

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनपछि सत्ताविमुख बनेको नेकपा एमालेले नवयुवाहरूलाई लक्षित गर्दै नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ। विगतदेखि नै युवा र विद्यार्थीका अलग-अलग संगठन सक्रिय भए पनि एमालेले पार्टी र नेताको सुरक्षाको लागि भन्दै नेशनल भोलेन्टियर फोर्स गठन गर्न लागेको हो। 

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ र विद्यार्थी संगठन अनेरास्ववियु क्रियाशील छन्। तर एमालेले ती संगठनहरूको विकल्पमा पार्टी र नेताहरूको प्रतिरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स नामको नयाँ संगठन घोषणा गर्न लागेको हो। 

युवा-विद्यार्थीहरूले आज काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट र्‍यालीपछि काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा पुगेर घोषणा सभा हुदैछ। सभामा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको औपचारिक घोषणा गर्नेछन्।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले सुरक्षाको विषयमा पार्टी अत्यन्तै संवेदनशील अवस्थामा भएकाले आफ्नो सुरक्षाको लागि आवश्यक सुरक्षा व्यवस्था गर्न नेशनल भोलेन्टियर फोर्स गठन गर्न लागिएको बताए। फोर्स गठन गर्ने विषयमा एमालेमै नेताहरूका बीचमा मतभेद भए पनि अध्यक्ष ओलीले नेता महेश बस्नेतको संयोजकत्वमा कार्यदल नै बनाएर फोर्स गठन गराएका हुन्।

बस्नेत नेतृत्वको ९ सदस्यीय कार्यदलमा पुष्प श्रेष्ठ, वचन देउजा, समिक बराल, मिनबहादुर शाही, विनिता काफ्ले, निशा लिम्बू, बिनोद पाण्डे र महेश चौलागाँई सदस्य थिए।

कार्यदलले पार्टीका विभिन्न विभागीय संगठनमा रहेकाहरूलाई नै समेत समेटेर नयाँ स्वयम्‌सेवी दस्ता गठन गरिएको र आगामी मंसिर ५ गतेभित्र यसको कार्यक्षेत्र, कार्यसमिति र कार्यविभाजनसहित भोलेन्टियर फोर्स गठन गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए। 

गंगा

Link copied successfully