एमालेले भन्यो- 'सरकार राजनीतिक दललाई निषेध गर्ने बाटोमा'

एमालेले पार्टीको कार्यक्रमलाई लक्षित गरी मुठभेड गराउन खोजेको भए पनि आफू सचेत रहेको जनाएको छ ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

UML says - 'Government on the path to banning political parties'

काठमाडौँ — एमालेले बाराको सिमरामा भएको घटनालाई लिएर गम्भीर आपत्ति जनाएको छ । केन्द्रीय सचिवालय बैठकमा सिमरा घटनाबारे छलफल गर्दै सरकार राजनीतिक दललाई निषेध गर्ने बाटोमा लागेको आरोप लगाएको छ ।

‘नेताहरूलाई निर्बाध ढंगले मुलुकका विभिन्न भागमा घुमफिर गर्न समेत नदिने, राजनीतिक गतिविधिहरूमा भाग लिन नदिने यी क्रियाकलापले सरकार निर्वाचनको वातावरण बनाउनतर्फ होइन, बरु निषेधको बाटोमा लागिरहेको छ,’ बिहीबार बेलुका केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘त्यसैले संसद् पुनर्स्थापनाको अर्थात् प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता अझ बढेर गएको छ ।’

एमालेले पार्टीको कार्यक्रमलाई लक्षित गरी मुठभेड गराउन खोजेको भए पनि आफू सचेत रहेको जनाएको छ । ‘हामी पूर्णरूपले सतर्क छौं । पछिल्ला घटनाक्रमहरूले हाम्रो पार्टीलाई अवरोध गर्न खोजिएको स्पष्ट देखिन्छ । तराई–मधेसमा मुठभेड नै गराउने प्रयास, नेताहरूलाई स्थानहद तोक्ने वा गन्तव्यमा पुग्न नदिने काम र घुसपैठ गराएर अवाञ्छित घटना घटाउने प्रयास छ,’ ज्ञवालीले भने, ‘त्यसबारे हामी सचेत छौं । हाम्रा स्वयंसेवक टोलीहरू पूर्ण तयारीका साथ खटिनेछन् र नेतृत्व तथा कार्यक्रमको सुरक्षाका लागि आवश्यक सबै तयारी भइसकेको छ ।’

कान्तिपुर

Link copied successfully