ओलीको प्रश्न : सभा गर्न नदिने सरकारले निर्वाचन कसरी गर्छ ?

ओलीले सभा गर्न नदिएको आरोप लगाए पनि बाराको परवानीपुरमा कार्यक्रम भयो । युवा संघको कार्यक्रममा कृष्णकुमार श्रेष्ठ, राजीव पहारी, क्षितिज थेवेलगायतका नेताहरू उपस्थित थिए।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Oli's question: How can a government that does not allow assemblies hold elections?

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन समेत गर्न नदिएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बारामा पार्टीको कार्यक्रम सरकारले गर्न नदिएको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

बुधबार बाराको सिमरा एयरपोर्टमा एमालेका कार्यकर्ता र जेन–जी युवाबीच झडप हुँदा राष्ट्रिय युवा संघ नेपालको भेलामा जानबाट पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत रोकिएका थिए । ओलीले सोही कुरालाई लक्षित गर्दै सभा गर्न नदिने सरकारले कसरी चुनाव गर्छ ? भनी प्रश्न गरेका हुन् । उनले जेन–जीको नाममा बारामा पनि एमालेविरुद्ध ढुंगामुढा गर्न लगाइएको भन्दै सह्य नहुने चेतावनीसमेत दिए । 

‘बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने । बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमा नै तोडफोड गर्न दिइयो । ५०/६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? अनि सरकार भन्छ चुनाव गर्ने रे । सभा गर्न नदिनेले चुनाव कसरी गर्छ,’ अध्यक्ष ओलीले भने ।  

अध्यक्ष ओलीले विरोधीहरूले हमला गरिरहेको भन्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । ओलीले सभा गर्न नदिएको आरोप लगाए पनि बाराको परवानीपुरमा आयोजित युवा संघको कार्यक्रममा कृष्णकुमार श्रेष्ठ, राजीव पहारी, क्षितिज थेवेलगायतका नेताहरू उपस्थित थिए।

कान्तिपुर संवाददाता

Link copied successfully