मजदुरहरूले कार्यथलोबाटै मतदान गर्न पाउने व्यवस्था गर्न माग

नामावली रहेको स्थायी ठेगानाबाट मात्रै मतदान गर्न पाउने व्यवस्थाका कारण धेरै मजदुरहरूले मतदानको अधिकार गुमाउने गरेको भन्दै यस्तो माग गरिएको हो।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Demand to make arrangements for workers to vote from their workplaces

काठमाडौँ — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मजदुरहरूले कार्यथलोबाटै मतदान गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ। लोकतन्त्रवादी मजदुरहरूको महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूको सहभागिता सुनिश्चत गर्न कार्यथलोबाटै मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको हो।

उक्त महासंघका पदाधिकारीहरूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर यस्तो माग गरेका हुन्। नामावली रहेको स्थायी ठेगानाबाट मात्रै मतदान गर्न पाउने व्यवस्थाका कारण धेरै मजदुरहरूले मतदानको अधिकार गुमाउने गरेको भन्दै महासंघका अध्यक्ष योगेन्द्र कुँवर, महासचिव अजयकुमार राईसहितको टोलीले आयोगमा पुगेर ध्यानाकर्षण गराएको हो।

उनीहरूले संविधानको धारा ४२(१) मा भएको व्यवस्था अनुरूप युवा, किसान र श्रमिकहरूलाई पनि समानुपातिक सिद्धान्तका आधारमा राज्यको संसद् लगायत निकायहरूमा प्रतिनिधित्वका लागि बेग्लै क्लस्टर बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनुपर्ने लगायतका मागहरू राखेका छन्।  

कान्तिपुर

Link copied successfully