प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा १७ दलको निवेदन

आयोगमा दर्ता रहेका दलहरुले हुन लागेको निर्वाचनमा भाग लिने सन्दर्भका लागि पुनः दर्ता गराउनुपर्ने कानुनी प्रावधान छ ।

मंसिर २, २०८२

राजेश मिश्र

17 parties submit applications to the Commission for participation in the House of Representatives elections

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उद्देश्यले थप ५ वटा राजनीतिक दलले मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

आयोगका अनुसार नेपाल जनता संरक्षण पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी र राष्ट्रिय समता पार्टी नेपाल दर्ता प्रक्रियामा आएका छन् । 

आयोगमा दर्ता रहेका दलहरुले हुन लागेको निर्वाचनमा भाग लिने सन्दर्भका लागि पुनः दर्ता गराउनुपर्ने कानुनी प्रावधान छ । आयोगले त्यसका लागि मंसिर १–१० गतेसम्मको समय दिएको छ । पहिलो दिन १२ र दोस्रो दिन ५ गरी अहिलेसम्म १७ राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भनेर आयोगमा दर्ता प्रक्रियाका लागि निवेदन दिएका हुन् । 

पहिलो दिन देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले निवेदन दिएका थिए । त्यस्तै, आम जनता पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी र नेपाल मानवतावादी पार्टीले निवेदन दिइसकेका छन् । दलहरूबाट प्राप्त कागजातहरुको अध्ययनपछि आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय लिने कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले बताएका छन् । 

त्यस्तै ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने उद्देश्यले चार राजनीतिक दलको निवेदन आयोगलाई प्राप्त भएको छ । नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन आयोगमा दर्ता गराएका छन् ।

त्यस्तै, आयोगमा ६ वटा नयाँ दल दर्ता भएका छन् । नयाँ दलको सूचीमा मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) थपिएको हो । यसअघि उक्त पार्टीले कम्युनिस्ट पार्टी नेपाल नाम राखेको थियो । पछि नाम परिवर्तन गरेर दर्ता भएको छ । 

पार्टीका महासचिव चन्दले आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेका छन् । यसअघि श्रम संस्कृति पार्टी, गतिशील  लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टीले दर्ता प्रमाणपत्र पाइसकेका छन् । 

नयाँ दर्ता भएका बाहेक पाँच पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीले पनि एकीकरणको प्रमाणपत्र पाइसकेको छ । आयोगमा नयाँ दर्ताका लागि अझै २८ वटा दलका निवेदन विचाराधीन छन् । 

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully