कुलमान घिसिङ संरक्षकत्वको उनेपाले गठन गर्‍यो वार्ता र चुनावी घोषणापत्र लेखन समिति

तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको संरक्षकत्वमा गठित उज्यालो नेपाल पार्टीका केन्द्रीय समितिले दुई वटा समिति गठन गरेको हो ।

मंसिर १, २०८२

जयसिंह महरा

UNEPA forms dialogue and election manifesto writing committee under Kulman Ghising's patronage

What you should know

काठमाडौँ — उज्यालो नेपाल (उनेपा)ले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूलाई पार्टीमा समाहित तथा एकता गर्नका लागि एकता समिति गठन गरेको छ । त्यस्तै, पार्टीको घोषणापत्र लेखनका लागि पनि समिति गठन गरिएको छ । 

निर्वाचन प्रयोजनका लागि गठित अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको संरक्षकत्वमा गठित उनेपाका केन्द्रीय समितिले दुई वटा समिति गठन गरेको हो । उनेपाका केन्द्रीय सदस्य शंकर ढकालका अनुसार केन्द्रीय समितिको बैठकले यी दुई समिति गठन गरेको जानकारी दिए ।

वार्ता समितिको सदस्यमा सुदूरपश्चिम प्रदेश सभामा स्वतन्त्र सांसद तारा जोशी, कलाकार रीमा विश्वकर्मा र निर्देश सिलवाल रहेका छन् । वार्ता समितिमा शंकर ढकाल, घनश्याम पाण्डे, तेजनारायण यादव र किरण विक आमन्त्रित सदस्य रहेका छन् । 'यो समितिले विभिन्न पार्टी, व्यक्ति र समूहसँग एकताको छलफल गर्नेछ । पहिलेका विवेकशील साझा, नयाँ शक्ति, नेपाल राष्ट्रिय विकास पार्टीलगायतका दल तथा स्वतन्त्र इन्जिनियरको समूहसँग तत्काल छलफल गर्ने योजना छ,' ढकालले भने, 'उज्यालो नेपाल पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति एवं नयाँ मूलाधारको दल बनाउन विभिन्न राजनीतिक शक्ति र व्यक्तिहरूसँग छलफल गर्नका लागि यो वार्ता समिति गठन गरिएको हो ।' आवश्यकताअनुसार वार्ता टोलीमा आमन्त्रित सदस्य थपघट गरिने बताइएको छ । 

त्यस्तै, उनेपाको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनका लागि घोषणापत्र लेखन समिति पनि गठन गरेको छ । यो समितिमा शंकर ढकाल (विज्ञान, प्रविधि, नवप्रवर्तन, पूर्वाधार र विपद् विज्ञ तथा युवा व्यवसायी), महेन्द्र लावती (राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ), तारा जोशी (सुदूरपश्चिम प्रदेश सभामा स्वतन्त्र सांसद), प्रतिमा शर्मा (महिला तथा समावेशीता विज्ञ), आशुतोष विजय पन्त (चिकित्सक), लाक्पा फुटी शेर्पा (पर्यटन व्यवसायी),  अरबिन्द शाह (आईटी विज्ञ, खल्तीका सहसंस्थापक), डा. सागर ढकाल (वातावरण विज्ञ), ज्योत्सना सैंजु (होटल व्यवसायी), श्रीराम गुरुङ (मिडियाकर्मी तथा व्यवसायी), किरण विक (जेन–जी अभियन्ता), संजीव भट्टराई (नीति तथा प्रशासन विज्ञ) रहेका छन् । 

घोषणापत्र लेखन समितिमा मुक्तसिंह लामा (राजनीतिशास्त्रका प्राध्यापक), राजु थापा (विपद् विज्ञ, कानुनविद्) र कुसुम घिमिरे (राजनीतिज्ञ तथा कानुन र सामाजिक अध्ययनकी प्राध्यापक)लाई आमन्त्रित सदस्यका रूपमा राखिएको छ ।  

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि उनेपाले घोषणापत्र लेखन समिति गठन गरेको हो  । ऊर्जा मन्त्रालयका पूर्वसचिव अरुणकुमार उपाध्यायको अध्यक्षतामा उनेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । यो पार्टीको चुनाव चिह्नमा बलिरहेको बिजुलीको चिम रहेको छ । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully