वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुन लागेकाले विधानबमोजिम महाधिवेशन गर्नुपर्ने निर्णय
What you should know
काठमाडौँ — बागमती कांग्रेस प्रदेश समितिको नगरकोटमा बसेको दुई दिनको बैठकले विधानबमोजिम समयभित्रै महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिलाई अनुरोध गरेको छ । प्रदेश समिति, बागमती प्रदेशसभाका सदस्यहरू तथा ११ जिल्लाका पार्टीका सभापतिहरूको संयुक्त बैठकले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुन लागेकाले विधानबमोजिम महाधिवेशन गर्नुपर्ने निर्णय गरिएको हो ।
बागमती कांग्रेस प्रदेशसभा सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति तोक्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरेको छ । प्रदेश समितिले मंगलबार दिएको जानकारीअनुसार महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिलाई अनुरोध गरिएको छ । शुक्रबार र शनिबार भएको उक्त बैठकमा बोल्नेहरूमध्ये दुई तिहाइले नियमित होस् वा विशेष, संसदीय निर्वाचन अगावै महाधिवेशन हुनुपर्ने धारणा राखेपछि प्रदेश समितिले यस्तो निर्णय गरेको छ ।
कांग्रेसमा विशेष अधिवेशन कि नियमित महाधिवेशनको बहस भइरहेका बेला बागमती प्रदेशले भने केन्द्रीय समितिको कार्यकाल सकिएको भन्दै महाधिवेशनको मिति तोक्न दबाब दिएको छ । सभापति तथा मुख्यमन्त्री बानियाले महाधिवेशन निर्वाचनअघि वा पछि जे भए पनि केन्द्रिय कार्यसमितिले सर्वसम्मतरूपमा गरेको निर्णय मान्य हुने जानकारी दिए । उनले कान्तिपुरसँग भने, ‘पार्टीमा एकता कायम हुनेगरी केन्द्रले गर्ने निर्णय आफूहरूलाई मान्य हुने छ ।’
बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्यहरू तथा पार्टी सभापतिहरूले धारणा राखेका थिए । बैठकमा ५५ जनाले बोलेका मध्ये ३२ जनाले विशेष वा नियमित जे भए पनि निर्वाचन अगावै महाधिवेशन हुनुपर्ने माग गरेका थिए । बैठक सहभागी एक सदस्यका अनुसार १५ जनाले महाधिवेशनको कुरै उठाएनन् भने ८ जनाले निर्वाचनपछि मात्र महाधिवेशन हुनुपर्ने धारणा राखेका थिए । १३ मध्ये ११ जिल्लाका सभापतिले धारणा राखेकोमा ८ जनाले निर्वाचन अगावै महाधिवेशनको प्रस्ताव गरेका थिए ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोल्नेहरू झन्डै दुई तिहाइले निर्वाचन अगावै महाधिवेशनको माग गरेपछि पार्टीमा अल्पमत र बहुमतको अवस्था सिर्जना भई आन्तरिक विभाजन नआओस् भन्नका लागि मध्यमार्गी निर्णय गरिएको बताए । केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएकाले महाधिवेशनको मिति तोक्न आग्रह गर्नुपर्ने सिघ्र महाधिवेशनको अर्थ हो, एक पदाधिकारीले भने, ‘मुख्यमन्त्रीकै अनुरोधमा बीचमा रहेर निर्णय गरिएको हो ।’
बैठकमा सिन्धुलीका सभापति उपेन्द्र पोखरेल, भक्तपुरका सभापति दुर्लभ थापा र रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले निर्वाचन अघि महाधिवेशन सम्भव नभएको धारणा राखेको एक सहभागीले बताए । बैठकमा रसुवा र काभ्रे बाहेक ११ जिल्लाका सभापतिको उपस्थिति रहेकोमा बहुमतले निर्वाचन अगावै महाधिवेशनको प्रस्ताव गरेका थिए ।
कांग्रेस प्रदेश सदस्य कुमार दुलालका अनुसार बोल्नेहरूले केन्द्रीय नेताहरूले नयाँ पुस्ताको परिवर्तनको चाहना बुझ्न नसकेको भन्दै पुरानो नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए । उनका अनुसार कतिपयले महामन्त्री गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । दुलालका अनुसार मुलुकमा यतिठूलो घटना भएर कांग्रेसको नेतृत्वमाथि प्रश्न उठ्दा पनि एकाथरी नेताहरूले समयको बेग बुझ्न नसक्नु दुर्भाग्य भएको बताएका थिए ।
बैठकमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका १४ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित रहेका थिए । बानिया समूहले आफूलाई मुख्यमन्त्रीबाट हटाएको भन्दै बहादुर पक्ष असन्तुष्ट रहेको छ । त्यसैले संसदीय दलमा बहादुरलाई मत खसाल्ने सबै जना प्रदेशसभा सदस्य अनुपस्थित भएका हुन् ।
पार्टी सभापतिहरू, प्रदेश समिति र कांग्रेसबाट जितेका प्रदेशसभाका सदस्यहरूको संयुक्त बैठक यो पहिलो पटक भएको हो । पार्टी सभापतिहरू, प्रदेश सांसद र मन्त्रीहरूबीच आपसी छलफल गरेर अघि बढ्ने मनसायले बैठकको आयोजना गरिएको जानकारी मुख्यमन्त्री बानियाले दिए ।
