जनपरिचालन गरेर भए पनि चुनावलाई केन्द्रबिन्दुमा राख्नुपर्छ : दाहाल

'तरल राजनीतिक परिस्थितिमा जनतालाई विश्वासमा लिऔँ'

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Elections should be kept at the center even if it is through mass mobilization: Dahal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति अझै सङ्लिइनसकेको उल्लेख गर्दै देशव्यापी रूपमा पार्टी एकता सन्देशसभा र चुनावी कार्यक्रमबाट जनतालाई विश्वासमा लिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका सचिवालय, प्रदेश इन्चार्जहरूको बैठकमा उनले सचेततापूर्वक अघि बढेर चुनावमा जानुपर्ने बताए ।

‘राजनीतिक परिस्थिति अझै तरल छ । हामी सचेततापूर्वक अघि बढ्नुपर्छ । पार्टीको आन्तरिक व्यवस्थापनको काम सकेर छिटोभन्दा छिटो सन्देशसभा गर्नुपर्छ । सन्देश सभा र चुनावी कार्यक्रम जोडेर लैजानुपर्छ,’ दाहालको भनाइ थियो, ‘जनपरिचालन गरेर भए पनि चुनावलाई केन्द्रबिन्दुमा राखेर गरिनुपर्छ । हामीले जनताको तहसम्म दिशा निर्देशन गर्नुपर्छ । मुख्यगरी जनतामा जाने, विश्वासमा लिनु महत्त्वपूर्ण छ ।’

प्रवक्ता अग्नि सापकोटाले प्रदेश, जिल्ला र पालिकाहरूमा एकता सन्देशसभा बनाउने तयारी भइरहेको बताए । ‘प्रदेश र जिल्ला र पालिकाहरुमा पार्टी एकता सन्देश सभा गर्न गृहकार्य हो’ उनले भने, ‘पार्टी एकतामा आएका घटकका नेताहरूसँग छलफल गरी अन्तरपार्टी निर्देशिका जारी हुनेछ ।’

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता भीम रावलले पार्टीलाई एकताबद्ध गर्ने विषयमा शंका नभएको बताए । निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि पठाएको केन्द्रीय समितिको सूचीलाई समायोजनपछि आशंका मेटिने बताए । ‘केन्द्रीय संयोजन समायोजनापछि सबै शंका निवारण हुनेछ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully