युथ कंग्रेसमा आबद्ध उत्सव सुवेदीले भने, 'हामीले जेन-जी आन्दोलन हुनुअघिदेखि नै कांग्रेस पार्टीभित्र स्थान खोजेका थियौं । तर, पाएनौं । अहिले पनि त्यसकै लागि संघर्षरत छौं ।'
What you should know
काठमाडौँ — भदौ २३ र २४ को जेन-जी आन्दोलन एवं प्रदर्शनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार गठन भयो । भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनको मुख्य नेतृत्व सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएको पुस्ताले गर्यो । जसलाई जेन-जी पुस्ता भनिन्छ ।
यसबीच आन्दोलनकर्ता अर्थात् जेन-जी पुस्ताको चर्चाको शिखरमा छ । जेन-जीका अनेकन् समूह संगठित भइरहँदा पुराना दलभित्र जेन-जीलाई 'स्पेस' दिने विषयमा भने अझै अलमल देखिन्छ । केही दलभित्र जेन-जी विशेष कमिटी बनाउने र विधानत: युवालाई स्थान दिने छलफल चले पनि त्यसले पूर्णता भने अझै पाएको छैन ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीभित्र जेन-जी विशेष कुनै कमिटी नबन्ने बताए । उनले भने, 'धेरै युवा भएको पार्टी हाम्रो हो । हामीले १३ औँ महाधिवेशनबाटै कम्तीमा १५ प्रतिशत युवा प्रतिनिधि हुने विधान बनाएका छौं । अब हामी यसलाई थप बढाउने छलफलमा छौं ।'
अबको नियमित महाधिवेशनमा युवा प्रतिनिधिलाई बढावाका लागि छलफल भइरहेको समेत उनले बताए । 'युवा सहभागिता बढाउनेमा दुईमत छैन । तर यो जेन-जी कमिटी नै भन्ने चाहिँ हुँदैन,' विश्वकर्माले भने ।
यता ओली नेतृत्वको एमाले मंसिरमा महाधिवेशन गर्दैछ । एमालेले अब हुने महाधिवेशनमा देशभरबाट ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रूपमा सहभागी हुने बताएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधिमध्ये एक जना अनिवार्य रुपमा युवा हुने उसको दाबी छ ।
त्यस्तै पार्टीभित्र पिपुल्स भोलेन्टियरको तयारी थालेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 'महेश बस्नेतको नेतृत्वमा कार्यदल गठन भएको छ । उनले रिपोर्ट सार्वजनिक गरेपछि हामी वडास्तरबाटै कसरी जान सकिन्छ भन्ने तयारीमा छौं,' उनले भने, 'यसमा विसुद्ध जेन-जी उमेर समूहका टोली हुनेछन् ।'
यता पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले आफ्नो घोषणापत्रभित्रै जेन-जीलाई समावेश गरेर लैजाने जनाएको छ । पार्टीको प्रतिबद्धता-पत्रमा जेन-जी पुस्ताको मुद्दा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्ध रहने उल्लेख छ ।
पार्टीका नेता अग्नि सापकोटाले पनि जेन-जी उमेर समूहकालाई समेटेर पार्टीको केन्द्रीय कमिटी र जनवर्गीय संगठन बनाएर अगाडि लैजाने बताए । 'पार्टीमा छलफल भइरहेको छ । जेन-जी र नयाँ पुस्तालाई एकदमै धेरै स्पेस दिने । केन्द्रीय किमिटीमा पनि उहाँहरूलाई नै धेरै स्थान दिने छलफल भइरहेको छ,' उनले भने, 'वाईसीएल, विद्यार्थी संघ लगायत अन्य जनवर्गीय संगठनमा पनि जेन-जीलाई मिलाएर लैजाने छलफलमा छौं ।'
जेन-जीको असन्तुष्टि कायमै
पार्टीहरूले आफूहरूलाई सुधार्ने बताए पनि जेन-जी पुस्ताको असन्तुष्टि कायमै छ । नेपाली कांग्रेसका जेन-जी पुस्ताहरू पार्टीमा लामो समयदेखि स्पेस खोजिरहेका छन् । तर, आन्दोलनले पनि नेतृत्वमा चेत नआएको उनीहरू गुनासो गर्छन् ।
कांग्रेसका युवाहरू आफूहरूले लामो समयदेखि पार्टीभित्र 'स्पेस' खोजे पनि नेतृत्वले मतलब नगरेको बताउँछन् । युथ कंग्रेसमा आबद्ध उत्सव सुवेदीले भने, 'हामीले जेन-जी आन्दोलन हुनुअघिदेखि नै कांग्रेस पार्टीभित्र स्थान खोजेका थियौं । तर, पाएनौं । अहिले पनि त्यसकै लागि संघर्षरत छौं ।'
पार्टीले स्पेस दिएको जस्तो गरे पनि अस्तित्व नस्विकारेको उनी बताउँछन् । 'हाम्रो पार्टीले आफूलाई सबैभन्दा धेरै युवा भएको पार्टी भन्छ । तर युथ कंग्रेसलाई अहिलेसम्म उनीहरूले स्विकार्न सकेका छैन,' सुवेदीले भने, 'हामीले धेरै समयदेखि यो संचालन गर्दै आएका छौं । तर यसलाई अहिलेसम्म पनि शुभेच्छुक संस्थाका रूपमा पनि स्विकारेका छैनन् ।'
त्यस्तै अर्का युवा गौरव भण्डारीले पार्टीभित्र विधानत: युवाहरूका लागि स्थान खोजिनुको विकल्प नरहेको बताए । उनले भने, 'हालको विशेष परिस्थितिले गर्दा विशेष महाधिवेशन हुँदै छ । यो महाधिवेशनमा प्रतिनिधि छान्न सम्भव छैन तर अब हुने नियमित महाधिवेशनका लागि भने तलबाटै अर्थात् क्षेत्रीयस्तरबाटै युवाहरूलाई प्रतिनिधि बनाउनुपर्छ ।
त्यस्तै गत असोजमा तत्कालीन माओवादीले गठन गरेको 'रेड जेन-जी फोर्स' पनि दाहालसँग नरहेको संयोजक स्मृति तिम्सिनाले बताइन् । गत कात्तिक १८ गते दाहाल नेतृत्वको माओवादी केन्द्र विधिवत् रूपमा फुटेपछि आफूहरू दाहालसँग आवद्ध नरहेको तिम्सिनाले बताइन् ।
फोर्सका संयोजक तिम्सिनाका अनुसार आफूहरू अब दाहालको पछि नरहेको बताइन् । उनले भनिन्, 'हामी यो दल वा त्यो दलको होइन । वामपन्थी विचारधारका साथीहरू एक हुने थलो हो यो । मेरो पृष्ठभूमि माओवादी भएका कारणले पार्टीसँग जोडेर हेरिएको हो । तर हामी वामपन्थीहरू एक हुने उद्देश्यका साथ अघि बढिरहेका छौं ।'
यद्यपि गठनको क्रममा तिम्सिनाले आफूहरूले दाहाललाई समर्थन गर्ने जनाएकी थिइन् । गठनका क्रममा २७ असोजका दिन उनले भनेकी थिइन्, ‘तल्ला तहका ९५ प्रतिशत पाँच वर्ष दाहाललाई नै नेतृत्व दिनुपर्छ भन्ने पक्षमा छन् ।’
तर अहिले भने आफूहरू दाहालको पछाडि नरहेको बताइन् । उनले कान्तिपुरसँग भनिन्, 'हामी दाहालले गरेको क्रान्ति र जनमुक्ति सेनाबाट इन्सपाएर भएका हौं तर अहिले दाहालको नेपाली कम्युनिस्ट पार्टीमा मिसिन चाहिँ हामी जाँदैनौं ।'
