संविधानभन्दा बाहिरका गतिविधि अस्वीकार्य : महासचिव पोखरेल

महासचिव पोखरेलले प्रतिनिधिसभाले नै अन्तरिम सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताए ।

कार्तिक २९, २०८२

तृप्ति शाही

Activities outside the constitution are unacceptable: General Secretary Pokharel

वीरेन्द्रनगर — एमाले महासचिव शंकर पोखरेलले संविधानभन्दा बाहिरका गतिविधि आफ्नो पार्टीलाई स्वकार्य नहुने बताएका छन् ।

एमाले दैलेखले आयोजना गरेको सभालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा सञ्चारकर्मीसँग पोखरेलले भने, 'संविधान, लोकतान्त्रिक प्रकिया र दलीय सहमतिको प्रकियाभन्दा बाहिरबाट गतिविधि गर्ने कुरा स्वकार्य छैन ।'

संविधानको रक्षा, शान्ति, लोकतन्त्रको पक्ष र प्रतिगामी षड्यन्त्रविरुद्ध एमाले अहिले जनपरिचालन गरेर अघि बढिरहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापित गर्नुपर्ने एमालेको धारणा रहेको सुनाए । 

उनले प्रतिनिधिसभाले नै अन्तरिम सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताए । उनले भने,' राजनीतिक दलको सहमतिमा सर्वपक्षीय सरकार बनाएर फेरि शीघ्र चुनावमा जान सकिन्छ । अनन्तकालसम्म संसद् कायम राख्नुपर्छ भन्ने कुरा एमालेको पनि हैन ।'

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नभएकोले यसमा एमालेको असहमति रहेको उनले बताए । जेन-जी आन्दोलनको प्रसंगमा शान्तिपूर्ण जुलुस हिंसामा किन परिणत भयो भन्ने कुरा नयाँ पुस्ताले बुझ्नुपर्ने उनले बताए । लोकतन्त्रमाथि षड्यन्त्र भएको घटनाले असाधारण रूपमा क्षति पुगेको उल्लेख गर्दै महासचिव पोखरेलले आफ्नो स्वार्थका लागि प्रतिशोध साँध्ने कुरा भएको बताए । 

निजी सम्पत्तिमाथि आक्रमण गर्ने कुरा आतंकवादको प्रतीक भएको पनि उनको टिप्पणी थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully