रास्वपा छोडेका सन्तोष परियार नेसपाका भट्टराई र माओवादी छोडेका शर्मासँग जोडिए

भट्टराईको नेसपा (नयाँ शक्ति) बाट संयोजक दुर्गा सोब, शर्माको प्रगतिशील राष्ट्रिय अभियानबाट सुदन किराँती र परियारबीच पाँच बुँदे सहमति भएको छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Santosh Pariyar, who left the Rashtriya Swayamsevak Sangh (RSS), joined hands with Bhattarai of the Nepali Samaj Party (NSSP) and Sharma, who left the Maoists.

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी केन्द्र अन्य कम्युनिस्ट पार्टीसँग एकतामा जाँदा अलग्गिएको जनार्दन शर्मा समूहसँग जोडिएका छन् ।

भट्टराई, शर्मा र परियार मिलेर राजनीतिक दल गठन गर्ने भएका छन् । जनार्दन शर्मा, सुदन किराँती, मानुषी यमी भट्टराईलगायतसँग मिलेर पार्टी गठन गर्न लागेको परियारले जानकारी दिए । 

भट्टराईको नेसपा (नयाँ शक्ति) बाट संयोजक दुर्गा सोब, शर्माको प्रगतिशील राष्ट्रिय अभियानबाट सुदन किराँती र परियारले शुक्रबार नै पाँच बुँदे सहमति भएको छ । यो सहमतिसँगै नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढिसकेको पनि परियारले जानकारी दिए । 'जनार्दन शर्मा, सुदन किराँती, मानुषी यमी भट्टराईलगायतसँग मिलेर पार्टी गठन गर्ने कुरा भएको छ । साथीहहरू निर्वाचन आयोगमा जानुभएको छ । दल दर्ताको समय थोरै भएकाले आयोगमा साथीहरू जानुभएको छ,' परियारले भने ।

तीन पक्षबीच भएको सहमति पत्रमा 'देशको गम्भीर अर्थ–राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन-जी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार बीच सहमति' भएको भनिएको छ । 

यस्ता छन् सहमतिका पाँच बुँदा: 

१. विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन-जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२. एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमति जनाउँदछौँ ।

३. मंसिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।

४. देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेन–जी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।

५. भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।

परियारले शुक्रबार मात्रै रास्वपा छोडेका थिए । उनी विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख  सचेतक थिए । आफ्ना धारणा र विचार रास्वपामा स्थापित गर्न नसकेकाले छोड्नुपरेको उनले पार्टीलाई पठाएको राजीनामा पत्रमा उल्लेख छ ।

'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रुपमा लिएको छु । नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु,'परियारले भनेका छन्,'बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु ।'

रास्वपासँग आगामी दिनमा सहकार्य हुन सक्ने पनि राजीनामा पत्रमा उनले लेखेका छन् ।

कान्तिपुर

Link copied successfully