बाबुराम र जनार्दनको ‘ब्याकअप’ मा नयाँ दल

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियारबीच पाँच बुँदे सहमति गरी नयाँ दल गठन गर्ने निर्णय गरेका छन्।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

New party to 'back up' Baburam and Janardan

What you should know

काठमाडौँ — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्माको ‘ब्याकअप’ मा नयाँ पार्टी बन्ने भएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियारबीच पाँच बुँदे सहमति गरी नयाँ दल गठन गर्ने निर्णय गरेका छन्। सोब भट्टराईले अध्यक्ष छाडेपछि नयाँ शक्तिको संयोजक छिन् भने किराँती शर्माले गठन गरेको प्रगतिशील अभियानका संयोजक तोकिएका छन् । परियारले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी त्याग गरी नयाँ दल गठनमा लागेका हुन् । भट्टराईले २०७३ मा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका थिए भने शर्मा पार्टी एकतामा नगई प्रगतिशील अभियान गठन गरेका थिए । 

‘एकता तथा ध्रुवीकरणका लागि नयाँ बने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमति जनाउँदछौँ । मंसिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौं,’ तीन नेताको सहमतिपत्रमा भनिएको छ, ‘देश तथा विदेशमा बसे प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेन–जी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौं।’

उनीहरुले भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिलसमेत गरेका छन्।

उनीहरुले ‘देशको गम्भीर अर्थ–राजनीतिक संकट,भ्रष्टाचार,नातावाद,बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्य’ लिएको बताएका छन्।

निर्वाचन आयोगमा दल दर्ताका लागि प्रगतिशील नागरिक पार्टी गठनको तयारी भइरहेको छ । विकल्पमा अरु नाम पनि राखिएको परियारले बताए । 

कान्तिपुर

Link copied successfully