कांग्रेसमा महाधिवेशनको विवाद मिलाउने कसरत जारी

शुक्रबार बसेको कार्य सम्पादन समितिको अनौपचारिक बैठकले महाधिवेशनमा सहमति जुटाउन नौ जनाको संयोजन समूह बनाइएको छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Efforts to resolve the dispute over the general convention continue in the Congress

काठमाडौँ — नेपाली कांग्रेसभित्र चलिरहेको आन्तरिक विवाद समाधानका लागि पार्टीका विभिन्न समूहबीच अनौपचारिक छलफल तीव्र बनेका छन्।

शुक्रबार बसेको कार्य सम्पादन समितिको अनौपचारिक बैठकले महाधिवेशनमा सहमति जुटाउन नौ जनाको संयोजन समूह बनाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए। 

बैठकमा नेता शेखर कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्री दोय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मा दिने प्रस्ताव बैठकमा गरेका थिए। सभापति, उपसभापति र दुई महामन्त्री मिलेर सहमति प्रक्रियालाई अघि बढाउने भन्ने प्रस्तावमा सहमहामन्त्री महेन्द्र यादवलाई पनि समावेश गर्नुपर्ने प्रस्ताव संस्थापन पक्षले गऱ्यो  । 

छलफलकै क्रममा सहमहामत्री यादवले यस संयोजनमा पूर्व पदाधिकारीहरु कृष्ण सिटौला,विमलेन्द्र निधि, प्रकाशमान सिंह र विजय गच्छदारलाई पनि समावेश गर्नुपर्ने प्रस्ताव राखे पछि नौ जनाको संयोजन समिति बनाइएको थियो। 

नेताबीचको छलफलमा आगामी महाधिवेशनको समयबारे अझै  स्पष्ट भएको छैन। नियमित महाधिवेशनमै जाने सोच साझा छ, तर निर्वाचन अगाडि कि पछाडि महाधिवेशन गर्ने भन्नेबारे मुख्य विवाद छ। 

यो विवाद मिलाउन शनिबार बिहानदेखि नै बैठक बसेर समझदारी बनाउने प्रयास हुने अर्का एक नेताले बताए। शनिबार केन्द्रीय कार्य समितिको बैठक बोलाइको छ। भोलिको बैठकबाट निर्णय सार्वजनिक गर्नुपर्ने भएकाले त्यसअघि निर्णयबारे समझदारी बनाउन खोजिएको हो। 

कांग्रेसभित्र चर्को विवादकाबीच सभापति शेरबहादुर देउवा आजै राति सिंगापुरबाट आउँदै छन्। संस्थापन पक्षका नेताहरु महाधिवेशनको विषयमा साझा धारणा बनाउन शनिबार देउवासँगसमेत छलफल गर्ने योजना बनाइएको छ।

कान्तिपुर

Link copied successfully