जनस्वराज दर्ता गर्ने निर्णय सर्वाेच्चद्वारा बदर, सीके राउतकाे दल विभाजनले पाएन मान्यता

विगतमा जारी भएर खारेज भएका अध्यादेशका आधारमा दल दर्ता भएकाे भन्दै सर्वाेच्चकाे पूर्ण इजलासले यस्ताे आदेश गरेकाे हाे ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Supreme Court nullifies decision to register Janaswaraj, CK Raut's party split not recognized

काठमाडौँ — सीके राउतकाे नेतृत्वमा रहेकाे जनमत पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्ने निर्णयलाई सर्वाेच्च अदालतले मान्यता नदिने फैसला सुनाएकाे छ ।

सर्वाेच्चले बिहीबार दल विभाजनपछि नयाँ दल दर्ता गर्ने निर्णय उत्प्रेषणकाे आदेशले बदर गरेकाे हाे । विगतमा जारी भएर खारेज भएकाे अध्यादेशका आधारमा दल दर्ता भएकाे भन्दै सर्वाेच्चकाे पूर्ण इजलासले यस्ताे आदेश गरेकाे हाे ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पाेखरेल र मेघराज पाेखरेलकाे इजलासले यस्ताे फैसला सुनाएकाे हाे । दल विभाजन गरेपछि राउत सर्वाेच्च पुगेका थिए ।

राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

उपाध्यक्ष अब्दुल खान यसअघि नै जनमत पार्टीबाट अलग भएका थिए । जनमत पार्टीमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमतले ६ सिट जितेको थियो । 

कान्तिपुर

Link copied successfully