निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले सहिद र घाइतेका माग पूरा नभएसम्म चुनावमा नजाने र सरकारको उद्देश्य चुनाव मात्रै भएको आरोप लगाए।
काठमाडौँ — जेन–जी प्रतिनिधि सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताएका छन् ।
बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताए। उनले आफ्ना मागहरू पूरा नभएसम्म निर्वाचनमा नजाने उद्घोष गर्दै सहिद, घाइतेका मागहरू पूरा हुनुपर्ने बताए। सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन–जी आन्दोलनले न्याय पाउनुपर्ने माग गरे।
उनले भने, ‘हामी चुनावमा जाँदैनौँ। हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन। यति धेरै मान्छे घाइते, सहिद भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो। अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ। न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ? हाम्रा प्रतिबद्धता पूरा हुन्। हामीले न्याय पाएका छैनौँ। उहाँले न्याय दिने आशा छैन।’
उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपालीले देश बनाउन आउनुपर्ने बताए ।
