आज पदाधिकारीले धारणा राखेपछि सकिँदै कांग्रेस बैठक, महाधिवेशन अन्योलमै

बिहीबार नै सबैले बोल्ने क्रम सकिने भए पनि महाधिवेशनको विषयमा भने बैठक कुनै निष्कर्षमा पुग्न सकेको छैन।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Congress meeting ends after office bearers express opinions today, general convention in confusion

What you should know

काठमाडौँ — कांग्रेस बैठकमा बिहीबार ६ पदाधिकारीले धारणा राख्दै छन्। असोज २८ गतेबाट सुरु भएको बैठकमा अब एक उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्रीले धारणा राख्न बाँकी छ। बिहीबार नै सबैले बोल्ने क्रम सकिए पनि महाधिवेशनको विषयमा भने बैठक कुनै निष्कर्षमा पुग्न सकेको छैन।

संस्थापन पक्षभित्रै पूर्व सात पदाधिकारीहरूले निर्वाचनअघि कुनै पनि प्रकारको महाधिवेशन गर्न नहुने अडान लिएका छन्। तर, सात पूर्व पदाधिकारी बाहेक अरू सदस्यहरू मध्यमार्गी समाधानको बाटोमा जानुपर्ने धारणा राखिरहेका छन्। उनीहरूले पुस मसान्तभित्रै महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनेबारे सात पूर्व पदाधिकारी र उनीहरूको समर्थक बाहेक संस्थापन पक्षकै सदस्यहरूले लचिलोपन देखाएका छन्।

यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्रै नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन बोलाउनुपर्ने तयारीमा छन्। सात पूर्व पदाधिकारीहरूको अडानका कारण कार्यबाहक सभापति पूर्णबहादुर खड्का निरिह बनेका छन् भने महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीका लागि गृहकार्य गरिरहेका छन्।

विशेष महाधिवेशनको पक्षमा नभएका शेखर कोइराला पनि अझै पुसमै नियमित महाधिवेशनको अडान लिँदै आएका छन्। नियमित महाधिवेशनको तालिका नल्याइए केन्द्रीय कार्यसमितिले आफैंले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उनको छ।

कार्यवाहक सभापति खड्का सात पूर्व पदाधिकारीको दबाबमा परेर कुनै निर्णयमा पुग्न सकेका छैनन्। यसले लामो समयदेखि कांग्रेस बैठक अनिर्णयको बन्दी बनेको छ। 

कांग्रेसभित्र महाधिवेशनलाई लिएर केन्द्रीय कार्यसमिति बाहिर समेत विभिन्न भेलाहरू हुन थालेका छन्। यसले पार्टी विभाजनसम्म लैजाने चिन्ता बढाएपछि संस्थापन पक्षका केही नेताहरू सभापति शेरबहादुर देउवा फर्केपछि मात्र महाधिवेशनको विषयमा निर्णय लिनुपर्ने पक्षमा छन्। देउवा शुक्रबार नै फर्कने कार्यक्रम छ।

एक पदाधिकारीका अनुसार बिहीबारको बैठकमा धारणा राख्ने क्रम सकिएपछि निर्णयमा समझदारी जुटाउन एक–दुई दिन बैठक स्थगित गरिनेछ। कांग्रेसभित्र महाधिवेशनपछि प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डाको विषयमा केही बोल्ने कि नबोल्ने भन्नेबारे पनि विवाद छ। पछिल्लो पटक प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर विघटित संसद्का ४५ सांसदले हस्ताक्षर गरेका छन्।

केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा निकट नेता रमेश लेखकले निर्वाचनसँगै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दालाई समेत सँगै अघि बढाउनुपर्ने बताउँदै आएका छन्। ‘सभापतिको निर्देशनमा तत्कालीन सांसदहरूले हस्ताक्षर गर्ने काम भएकाले यसबारे पार्टीले निर्णय लिँदा के भनेर लिने भन्नेबारे सभापति फर्केपछि निर्णय हुने सम्भावना छ,’ देउवा निकट अर्का एक केन्द्रीय सदस्यले बताएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully