निर्वाचन घोषणापछि थपिए ५ नयाँ पार्टी, अझै कुन-कुन थपिँदै छन् ?

 दलको संख्या १ सय २५ पुग्यो, दल दर्ताका २० वटा निवेदन आयोगमा अझै विचाराधीन

कार्तिक २६, २०८२

राजेश मिश्र

Five new parties were added after the election announcement, which ones are still being added?

What you should know

काठमाडौँ — निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताको चाप बढेको छ । प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता ५ वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् । २० वटा दल दर्ता प्रक्रियामा छन् । बुधबार नागरिक उन्मुक्ति पार्टी, नेपालले दर्ता प्रमाणपत्र पाएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने दिन नजिकिँदै गर्दा नयाँ राजनीतिक दल थपिने क्रम बढेको छ । दैनिक ३/४ वटा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन परिरहेका छन् । २४ कात्तिकमा ३, २३ कात्तिकमा ४ र २१ कात्तिकमा ५ वटा दल दर्ताका लागि आयोगमा निवेदन परेको छ ।

निर्वाचन कार्ययोजना बमोजिम मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने छ । उक्त अवधि अगावै आयोगमा दर्ता भएका दलहरूले मात्रै चुनावी प्रयोजनका लागि पुनः दर्ता गराउन पाउने भएकाले नयाँ दल खोल्नेहरू दर्ता प्रक्रियामा आइरहेका छन् ।

आगामी निर्वाचनमा भाग लिन चाहने राजनीतिक समूहले आयोगको मंसिर १० सम्मको कार्यतालिका भित्रै दल दर्ताको प्रमाणपत्र लिएर निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गराउनुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् । आयोगमा विधिवत् दर्ता भएका दलहरू मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन पाउने उनले बताए ।

आयोगमा १ सय २५ राजनीतिक दल दर्ता छन् । त्यो सूचीमा थपिन राजनीतिक समूहहरू दल दर्ता प्रक्रियामा आएका छन् । २३ र २४ भदौको जेन-जी आन्दोलन पछाडि धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सहभागी रहेको दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ ।

त्यस्तै, निर्वाचन घोषणापछि दुई वटा राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन् । जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर राष्ट्रिय जनमुक्ति पार्टी आयोगमा सूचीकृत भइसकेको छ ।

त्यस्तै, कुलमान घिसिङको समर्थन रहेको अनुप उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी, अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल दर्ता प्रक्रियामा छ ।

त्यस्तै, नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्द नेतृत्वको नेपाल राष्ट्रिय युवा पार्टी र योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् । त्यसैगरी, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी, रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा प्रक्रिया बढाएका छन् ।

राजकुमार कक्षपतीले नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), सुन्दरराम बोहराले आवाज पार्टी, गणेशकुमार मण्डलले सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाले नागरिक बचाउ दल, नेपाल तथा अकबर खानले राष्ट्र निर्माण दल नेपाल दर्ताका लागि निवेदन दिएका छन् । रमणकुमार कर्णले जनादेश पार्टी नेपाल र प्रशान्त सिंहले पिपुल फर्स्ट पार्टी दर्ताका लागि आयोगमा प्रक्रिया बढाएका छन् ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार कानुनले तोकेका प्रक्रिया पूरा गरिसकेका दलहरूले दल दर्ताको प्रमाणपत्र पाइसकेका छन् । प्रवक्ता भट्टराईले दल दर्ताका लागि निवेदन दिएकाहरूसँग नपुग आवश्यक कागजात मगाउने तथा सनाखतका प्रक्रिया भइरहेका बताएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनले दल दर्ता गराउन चाहनेले दलको विधान, घोषणापत्र, झण्डा र चिन्हको नमुना, कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गरेको प्रतिबद्धता र तिनीहरूको नागरिकता वा मतदाता परिचयपत्र प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षरसहित आयोगमा निवेदन दिनुपर्ने भनेको छ ।

त्यस्तै, कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था हुनुपर्ने उल्लेख छ । कागजात पूरा भएपछि आयोगले केन्द्रीय समितिमा रहेका तथा सदस्यता लिएका पाँच सय जनाको सनाखत गराउँछ । राजनीतिक दलसम्बन्धी ऐनले दल दर्ता गराउन चाहनेले दलको विधान, घोषणापत्र, झण्डा र चिह्न नमुनासमेत पेस गर्नुपर्छ ।

प्रवक्ता भट्टराईले समयको चाप रहेकाले दल दर्ता गराउने प्रक्रियामा रहेकाहरूले केन्द्रीय समिति र सदस्यहरूलाई सनाखतका लागि समयमै उपस्थित गराउन आग्रह गर्छन् । ‘सबैभन्दा बढी समय त्यसैमा लाग्ने रहेछ,’ उनले भने, ‘सनाखत समयमा गरिदिनुपर्‍यो, कागजात पूरा गर्नुपर्‍यो, तिनीहरूले आफ्नो दायित्व पूरा गरिदिनुपर्‍यो । आयोग आफ्नो दायित्व पूरा गर्न तयार छ ।’

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully