सात पूर्व पदाधिकारीमध्ये कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व उपसभापति विमलेन्द्र निधि महाधिवेशनको मुद्दामा सबैभन्दा बढी अनुदार देखिएका छन् ।
What you should know
काठमाडौँ — कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले निर्वाचन अगाडि कुनैपनि प्रकारको महाधिवेशन गर्न नहुने बताएका छन् । पार्टी महाधिवेशनले निर्वाचनमा पार्टीलाई क्षति पुग्ने भन्दै निधिले विशेष र नियमित कुनैपनि महाधिवेशन गराउने पक्षमा पार्टी लाग्न नहुने बताए ।
‘चुनावभन्दा बाहिर पार्टी जान सक्दैन । संसद् पुनर्स्थापनाको पक्षमा पनि म छैन । आजको दिनमा एक चुनाव, दुई चुनाव, तीन चुनाव हो,’ निधिले भने, ‘चुनाव सकिएपछि मात्रै पार्टीको महाधिवेशन गरौं ।’
उनले विशेष महाधिवेशनको मागलाई समेत अघि बढाउन नहुने बताए । ‘नियमित मात्रै होइन, विशेष महाधिवेशन पनि गर्न सकिन्न । चुनावभन्दा बाहिर गएर महाधिवेशनमा कोही पनि नलागौं, नहुने कामको पछाडि किन लाग्नु,’ उनले भने ।
सात पूर्व पदाधिकारीमध्ये अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र निधि महाधिवेशनको मुद्दामा सबैभन्दा बढी अनुदार देखिएका छन् । सिटौलाले समेत महाधिवेशन अगाडि कुनैपनि प्रकारको महाधिवेशन गर्दा निर्वाचनमा असर पार्ने बताए । ‘आजको मितिसम्म म कुनैपनि प्रकारको महाधिवेशनको पक्षमा छैन । तपाईंहरु महामन्त्रीहरुसँग डराएर महाधिवेशनमा जान नखोज्नु भएको हो भन्ने प्रश्नमा सिटौलाले भने, ‘किन डराउनु ? डराएको होइन । निर्वाचनलाई क्षति पुग्ने ठानेरै हामीहरुले यसो भनिरहेका हौँ ।’
सिटौलालाई महामन्त्रीहरुले पार्टी कब्जा गर्छन् भन्ने डर पो हो कि भनी सोधिएको अर्को प्रश्नमा उनले भने, ‘हाम्रो पार्टी कसैले कब्जा गरेर कब्जा हुँदैन । कम्युनिस्ट पार्टीको जस्तो हाम्रो पार्टी होइन ।’ अन्तिममा उनलाई महामन्त्रीहरु नेतृत्वमा आए भने तपाईंहरु पार्टीभित्र भूमिका पाइँदैन भनेर डराउनु भएको हो भन्ने प्रश्नमा थपे, ‘होइन । हामीले अहिलेसम्म के भूमिका पाएका छौँ र ? केन्द्रीय सदस्य भएर बसेका त हौं । महामन्त्रीहरु पदाधिकारी हुँदा पनि मानिरहेका छौँ । त्यसैले हामीलाई उहाँहरु नेतृत्वमा आउँदा पनि कुनै अप्ठ्यारो हुँदैन ।’
