कोठामा बसेर मुख्यमन्त्री बनाउनु गलत : एमाले उपाध्यक्ष पाण्डे

उनले त्यहाँ मुख्यमन्त्री हुने व्यक्तिले किन यसो गरे भनेर पार्टीमा छलफल हुनुपर्ने बताए।

कार्तिक २६, २०८२

रमेशकुमार पौडेल

It is wrong to appoint a Chief Minister from a room: UML Vice President Pandey

चितवन — नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले मधेसमा एमालेकै तर्फबाट मुख्यमन्त्री बनाइए पनि त्यसरी मुख्यमन्त्री बनाउनु गलत भएको बताएका छन्। 

बुधबार बिहान नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘जे सुकै भए पनि मुख्यमन्त्री बन्ने कुरा खासखुस गरेर कोठामा बसेर गर्नु गलत हो। यो त राजनीतिकरुपमा गर्नुपर्‍यो। यसरी लुकेर बनेपछि सरकार कसरी चलाउँछन्?' 

उनले व्यक्तिगत रूपमा त्यहाँ मुख्यमन्त्री हुने व्यक्तिले किन यसो गरे भनेर छलफल हुनुपर्ने बताए। 'यो त एमालेको सिङ्गो निर्णय नै यही हो कि भन्ने भयो। एमाले नै दुई धारमा उभिएको झैँ देखियो,’उनले भने। नहुने भइसकेपछि सम्हालिएर जानुपर्ने तर यसैलाई आधार बनाएर मुठभेडमा जान नहुने उनले अपिल गरे। 

नेता पाण्डेले महाधिवेशनमा आउने सबै प्रतिनिधिको हैसियत बराबर हुने बताए। सञ्चारमाध्यमहरूमा महाधिवेशनमा आफूले बाहेक अरूले नबोल्ने कुरा वर्तमान अध्यक्ष केपी शर्मा ओलीबाट आइरहेको विषयमा उनले भने, ‘ठूलो नेता भए पनि सानो भए पनि महाधिवेशनमा आउने प्रतिनिधिहरूको हैसियत बराबर हो। राम्रो मानसिकता राखे पार्टी ठीक ढंगले अगाडि बढ्छ।’

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully