बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी : रावल

युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने नेता रावलले बताए

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

It is necessary to strengthen the Nepali Communist Party to stand strong against external interference: Rawal

काठमाडौँ — मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने नेता रावलले बताए । 

मुलुकको विकास र शान्ति सुव्यवस्थाका लागि कम्युनिस्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत दाबी गरे । उनले भने, ‘देशभक्त, प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध, निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन्,' उनले भने, 'त्यसैले नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्न नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरुलाई विदेश जानबाट रोकौं ।’

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अहंकारका कारण तत्कालीन नेकपा नटिकेको उल्लेख गरे । ओलीको अहंकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको टिप्पणी गरे । 

कान्तिपुर

Link copied successfully