पार्टीमा रावलको वरीयता आपसी सहमतिमा टुंगो लगाइने
काठमाडौँ — एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन् । मातृभूमि जागरण अभियान, नेपालका रावलले बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग सहमति गरेका हुन् ।
नेकपामा रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने सहमतिमा भनिएको छ । त्यस्तै पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए ।
एकीकरणको औपचारिक घोषणा भने केही बेरमा राष्ट्रिय सभा गृहमा हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने यसअघि नै सहमति भइसकेको छ । दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताले रावलको वरीयता निर्धारण हुने नेताहरूको भनाइ छ ।
