पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गर्ने तयारी छ । रास्वपा छोडेकी सुमना श्रेष्ठ नाम र नेतृत्वमा सहमत भइनन् ।
What you should know
काठमाडौँ — नयाँ दल दर्ता गरेर निर्वाचनमा सहभागी हुनेबारे विभिन्न पक्षसँग लामो छलफल र विमर्शपछि घिसिङ पक्षले उज्यालो नेपाल पार्टीलाई नै आफ्नो बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगमा गत २७ साउनमा ‘उज्यालो नेपाल’ पार्टी दर्ताका लागि निवेदन परेको छ । यो पार्टीको चुनाव चिह्न ‘बलिरहेको बिजुलीको चिम’ प्रस्तावित छ । ज्ञानबहादुर तामाङले यो पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उक्त दल दर्ताको प्रक्रियामै छ । मंगलबार आवश्यक कागजात पुर्याएर दर्ता अगाडि बढाउने तयारीमा घिसिङ पक्ष छ ।
अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङ भने यो पार्टीको कार्यकारी भूमिकामा हुने छैनन् । पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गर्ने तयारी छ । ‘दर्ताका लागि पहिल्यै निवेदन परिसकेको उज्यालो नेपाल पार्टीको विवरण अद्यावधिक गर्ने निर्णयमा पुगेका छौं । कार्यकारिणी समितिको नामावली र आवश्यक कागजात मंगलबार पेस गर्नेछौं,’ उपाध्यायले भने ।
पार्टीमा घिसिङको प्रत्यक्ष भूमिका नरहने पनि उनले जानकारी दिए । ‘उहाँको अगुवाइमै गठनका लागि प्रक्रिया अगाडि बढेको पार्टी हो । पार्टीले एक व्यक्ति र एक पदको सिद्धान्त फलो गर्ने भएकाले अहिले उहाँ जिम्मेवारीमा हुनुहुने छैन । मन्त्री हुँदा पार्टीको जिम्मेवारी नलिने, सरकार छोडेपछि उहाँ नै अध्यक्ष हुने हो,’ उपाध्यायले भने ।
यो पार्टीमा जेन–जी आन्दोलनका अगुवा ‘हामी नेपाल’ का सुधन गुरुङसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पनि साथ रहने उनले दाबी गरे । ‘मेयर शाहको टिम हामीसँगै हुनुहुन्छ । सुधन गुरुङले घोषणा गरेका सात वटै प्रदेशका जेन–जी संयोजक पनि हामीसँगै हुनुहुन्छ,’ उनले भने । मेयर शाहको सचिवालयले भने यसबारे केही बताएको छैन । वैकल्पिक शक्ति र जेन–जीलाई एक ठाउँमा ल्याउने शक्तिलाई आफूहरूले समर्थन गर्ने शाहको सचिवालयले बताउँदै आएको थियो ।
गुरुङले सात वटा प्रदेशमा जेन–जीका संयोजक तोकेका थिए । कोशी संयोजकमा उपार्जुन चाम्लिङ, मधेश संयोजक शिव यादव, बागमती संयोजक अफ्साना बानु, गण्डकी संयोजक प्रदीप पाण्डे, लुम्बिनी संयोजक आदित्य आचार्य, कर्णाली संयोजक सुप्रिया शाही र सुदूरपश्चिम संयोजक खेमराज साउदलाई गुरुङको जेन–जी समूहले जिम्मेवारी दिएको थियो ।
यसअघि घिसिङसहित रास्वपाबाट बाहिरिएकी सुमना श्रेष्ठलगायत पनि नयाँ दल दर्ताको छलफलमा सहभागी थिए । अन्तिम अवस्थामा घिसिङले उज्यालो नेपाल पार्टीलाई नै अगाडि बढाउने र पूर्वसचिव उपाध्यायलाई नै तत्कालका लागि संयोजक बनाउने निर्णय गरेपछि श्रेष्ठले छुट्टै अगाडि बढ्ने निर्णय गरेकी छन् । श्रेष्ठले भनिन्, ‘अब काउन्सिल अफ लिडर्सको अवधारणामा अगाडि बढ्छौं ।’
श्रेष्ठ ‘उज्यालो नेपाल पार्टी’ नाममा सहमत थिइनन् । उनले ‘जनसेवा पार्टी’ दर्ता गर्नुपर्ने बताएकी थिइन् । उपाध्यायले भने, ‘सुमनाले हामीलाई शुभकामना भन्नुभएको छ । भोलि सँगसँगै जाने अवस्था आउन सक्छ पनि भन्नुभयो । उहाँले जनसेवा पार्टी बनाउने भनेर कुरा सुरु गर्नुभएको थियो । धेरै साथीले उज्यालो नेपाल ‘ब्रान्ड’ भइसकेकाले यो परिवर्तन नगरौं भन्नुभयो ।’
श्रेष्ठले नयाँ पार्टी गठन गरेपछि घिसिङले मन्त्रीबाट राजीनामा गरेर संगठन निर्माणमा लाग्नुपर्ने प्रस्ताव गरेकी थिइन् । त्यस्तै, घिसिङले नेतृत्व नलिने भए जेन–जी अगुवा वा जेन–जी आन्दोलनका सहिद वा घाइतेलाई अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव श्रेष्ठले राखेकी थिइन् । जसलाई घिसिङ पक्षले अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक पर्ने हस्ताक्षरसहितका कागजातसहित विधानमा आवश्यक परिमार्जन गरेर जाने तयारीमा घिसिङ पक्ष छ । सरकारमा जाँदा पार्टीमा रहेको पद छोड्नुपर्ने व्यवस्था विधानमा गरिने भएको छ । उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय समिति आयोगमा दर्ता गर्न लागिएको हो, जसमा गुरुङ पक्षका जेन–जी नेताहरू पनि हुनेछन् ।
