२० प्रतिशतभन्दा कम मत पाए सरकारमा जाँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत

निर्वाचन आयोगमा प्रमाणपत्र लिएपछि नेताले पार्टीले देशभर २० प्रतिशत मत नपाए सरकारमा नजाने अडान सार्वजनिक रूपमा घोषणा गरेका छन्।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

We will not join the government if we get less than 20 percent votes: Birendra Bahadur Basnet

What you should know

काठमाडौँ — गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् ।

सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन् । उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकाङ्क्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए। राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ।

उनले भने, ‘हामीले चाहिँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहिँ साकार कसरी गर्न सक्छौँ भन्ने हिसाबले अगाडि बढ्नुपर्छ। त्यस कारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछौं। सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइम हो, त्यसमा चाहिँ हामी प्रवेश गर्दैछौं। अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ।'

उनले आफूहरू दीर्घकालीन हिसाबले राजनीतिमा प्रवेश गरेको बताए । उनले देशका सन्ततिहरूका लागि त्याग, निष्ठा, इमानदारिता र सृजनशीलताका साथ अगाडि बढ्ने बताए।

उनले भने, 'यो हाम्रो लागि मात्र होइन, हाम्रा सन्ततिहरू र त्यस पछिका सन्ततिहरूका लागि हो। हामी त्यसमा पूरा त्याग, हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हाम्रो सृजनशीलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजानेछौँ। हामी दीर्घकालीन हिसाबले आउँदैछौं किनभने हाम्रो घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाइ सरकारमा जाँदैनौँ।’

उनले जेन—जी पुस्ताको आन्दोलनपछि पार्टीको संगठनात्मक कार्य सुरु गरेको पनि बताए ।

कान्तिपुर

Link copied successfully