नेकपा प्रवेश गर्दै एमाले केन्द्रीय सदस्य शाह

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुँदैछ । एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले त्यही कार्यक्रममा नेकपा प्रवेश गर्ने तयारी गरेका हुन् ।

कार्तिक २४, २०८२

अर्जुन शाह

UML central member Shah joining NCP

What you should know

धनगढी — नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारीमा छन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुँदैछ । केन्द्रीय सदस्य शाहले त्यही कार्यक्रममा नेकपा प्रवेश गर्ने तयारी गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एघारौं महाधिवेशनमा कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि महाधिवेशन समापन हुने’ भनि दिएको मन्तव्यले अध्यक्ष ओली ‘जबजको चीरहरण’ गर्ने मनसाय राखेर अघि बढेको शाहको प्रतिक्रिया दिए । 

‘उहाँ प्रधानमन्त्री रहेका बेला स्कुले बालबालिका र नौ जवानहरुको हत्या भयो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास जस्ता राष्ट्रका ऐतिहासिक धरोहरहरु नष्ट भए । व्यापारिक घराना र व्यक्तिको निजी सम्पत्तिको रक्षा गर्नु प्रधानमन्त्रीको  जिम्मेवारी र कर्तव्य थिएन र ?,’ शाहले भने, ‘हत्या र सम्पत्ति संरक्षण गर्न नसकेकोमा ग्लानि र आत्मालोचना त परै जाओस्, उहाँको स्वच्छाचारिता र निरंकुशताले झन् झन् सीमा नाघ्दै गएको देखियो । राजनीतिमा इमान, जमान, नैतिकता, जवाफदेहीता भन्ने कुनै चीजै नहुने हो र ? ओलीमा त्यस्तै देखियो त ।’ उनले ओलीमाभन्दा बढी नैतिकता र जवाफदेहीता त पञ्चायत कालका प्रधानमन्त्री कीर्तिनिधि विष्टले देखाएको बताए । सिंहदरबारमा आगलागी हुँदा विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए । ‘ओलीका पछिल्ला अभिव्यक्ति देशलाई थप संकट र मुठभेडतर्फ धकेल्ने खालको छ,’ उनले भने ‘राष्ट्र र जनताप्रति जिम्मेवार कुनै पनि नेताले ओलीको जस्तो हर्कत गर्न सक्दैन ।’

पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता, करिब चार वर्ष अवधि आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला मन्त्री रहेका शाह एमालेमा लगातार दुई पटक केन्द्रीय निर्वाचित नेता हुन् । एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए ।    

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully