भैंसी व्यापारपछि बिर्तामोडमा जग्गा व्यापार थालेका दुर्गा प्रसाईं द्वन्द्वकालमा माओवादीनिकट भएर शक्ति आर्जन गरे, पछि बिर्तामोडमा नै सात सय शय्याको बीएन्डसी मेडिकल कलेज खोले । त्यसलाई सम्बन्धन दिलाउन कहिले माओवादी त कहिले एमालेतिर लागेका प्रसाईं यतिबेला राजसंस्था फर्काउने भन्दै भड्काउ अभिव्यक्ति दिइरहेका हुन्छन् ।
What you should know
काठमाडौँ — आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजकका रूपमा चिनाउँदै आएका दुर्गा प्रसाईंले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिएका छन् । सुकुम्बासी बस्ती खाली गराउने विषयलाई लिएर बालेन र गृह प्रशासन आमनेसामने हुने परिस्थिति देखिइरहेका बेला प्रसाईले सुकुम्बासीलाई न्याय दिलाउने होइन उक्साउने अभिव्यक्ति दिएका छन् ।
प्रसाईंले आइतबार मनोहरा बस्तीमा गएर भने, ‘जसले घर भत्काउन आउँछ, गएर त्यसैको घर भत्काउनुस्, जसले लछारपछार गर्न आउँछ, उसैको ... (परिवारलक्षित आपत्तिजनक शब्द) ।’
राजसंस्था फर्काउन ७ मंसिरदेखि ‘निर्णायक’ आन्दोलन थाल्ने भन्दै आएका उनले सुकुम्बासी बस्ती पुगेर दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले ‘नोटिस’ मा लिएका छन् । ‘विगतमा उनले आह्वान गरेको आन्दोलनमा सुकुम्बासी बस्तीबाट गएकाहरूले अराजक गतिविधि गरेको पृष्ठभूमि छ,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले सुनाए, ‘यसपालि पनि आन्दोलन हुनु केही दिन अगाडि सुकुम्बासी बस्ती पुगेर उनले सहानुभूति बटुल्ने प्रयास गरेका छन् ।’
प्रसाईंले केही सातायता पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात ठप्प पार्ने भन्दै रासन भण्डारण गरेर राख्न सर्वसाधारणलाई चेतावनी दिँदै आएका छन् । छठलगत्तै आन्दोलन चर्काउने दाबी गरेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूले उनलाई बोलाएर ९ कात्तिकमा छलफल गरेका थिए ।
प्रशासक र प्रहरी अधिकारीहरूको भेटमा उनले तत्काल आन्दोलनको योजना नभएको भन्दै पुसमा आन्दोलन गर्ने तयारी रहेको तर, धार्मिक कारणले मंसिरबाटै सुरुवात गर्ने सुनाएका थिए । उक्त छलफलपछि प्रसाईं केही दिन संयमित देखिए । पत्रकारहरू बोलाएर आफू संयमित हुने बताए । तर, केही समयपछि उनी पुरानै शैलीमा प्रस्तुत हुन थालेको अधिकारीहरू बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा भएको छलफलमा सहभागीहरूका अनुसार, सरकारी अधिकारीहरूले वार्ताका लागि प्रस्ताव राखेपछि उनले त्यसका लागि तयार रहेको जवाफ दिएका थिए । प्रसाईंले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री ओमप्रकाश अर्याललाई आफ्ना मागहरूसहितका लिखित पत्रसमेत बुझाएका थिए ।
‘आन्दोलन गर्नेबारे धेरै कुराहरू आएपछि छलफलका लागि बोलाएका थियौं, उहाँले एक/डेढ महिना त्यस्तो तयारी छैन भन्नुभयो, त्यो संवादको रेकर्ड पनि छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘डेढ महिनाअघि मात्र ठूलो आन्दोलन भएर सरकारी संरचना, भौतिक पूर्वाधारहरूमा क्षति पुगेको, कैदीबन्दीहरू फरार रहेको, हतियारहरू बाहिरै भएको लगायतका कुरा राखेर अहिले आन्दोलन नगर्न भनेका थियौं ।’
गृहमन्त्री अर्याल स्वयंले समेत प्रसाईंसँग कुराकानी हुन सक्ने बताएपछि अधिकारीहरूले प्रसाईंलाई त्यसबारे जानकारी गराएका थिए । प्रसाईंले त्यही छलफलमा मन्त्री अर्याललाई सम्बोधन गरेर पत्र दिएका थिए । प्रसाईंले पत्रमा आफूहरूका एजेन्डा र त्यसमा कुराकानी गर्न तयार रहेको आशयको विवरणहरू लेखेका छन् । ‘मन्त्रालयले विज्ञप्ति नै जारी गरेर जायज मागहरू छन् भने आउनुस्, संवाद गरौं भनेर कुराकानीको ढोका खोलिसकेको छ,’ प्रजिअ पौडेल भन्छन्, ‘त्यस्तोमा उहाँले दिएको पत्र गृहमन्त्रीज्यूसमक्ष पुर्याएका थियौं ।’
प्रसाईं स्वयंले कान्तिपुरसँग व्यवस्था परिवर्तनसहित गरिब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्नेसहितका माग राखेर पत्र दिइएको बताए । ‘तर, वार्ताको कुरा गरिरहँदा उहाँहरूले मलाई निगरानीमा राखेका कुरा आउँछन्, उहाँहरू मिडिया ट्रायल गर्नुहुन्छ,’ प्रसाईंले भने, ‘त्यसरी त कसरी कुराकानी हुन्छ ?’
प्रशासनबाट निस्किएपछि पत्रकारहरूसँग कुरा गर्ने क्रममा भने उनले अहिलेको सरकारले कमसेकम वार्तामा बोलाएको भन्दै एक पटक छलफल गर्ने बताएका थिए । ‘हिजो केपी ओलीले यति पनि गरेनन्, सीडीओ, एसएसपी, एसपी र राअविका सरहरूसँग सबै कुराहरू भए,’ प्रसाईंले भने, ‘राजनीतिक कुराहरू हाम्रो तहबाट हुँदैन, अरू गर्न सक्ने हुन्छ भनेर भन्नुभयो ।’ उनले माओवादी युद्धको स्मरण गराउँदै त्यसबेला पनि पटक–पटक वार्ता भएको भन्दै यसपालि सरकारले छलफलका लागि बोलाउनु नै सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
प्रसाईंले देश नै ठप्प पार्ने भन्दै शृंखलाबद्ध अभिव्यक्ति दिएपछि गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरूको बैठकसमेत बसेको थियो । त्यसबेला प्रसाईंको आन्दोलनमा घुसपैठ हुन सक्ने चिन्ता चारै वटा सुरक्षा संयन्त्रले राखेका थिए । केही धार्मिक अतिवादी समूहसमेत विगतमा प्रसाईंले आयोजना गर्ने कार्यक्रममा देखिएकाले अरू जोखिमसमेत हुन सक्ने औंल्याइएको थियो । यो स्थितिमा नेपाली सेनाले समेत प्रसाईंसँग संवाद गर्न सुझाव दिएको थियो ।
‘त्यसपछि गृहमन्त्रीज्यू स्वयं कुराकानी गर्न तयार हुनुभएको हो, त्यसका लागि पहल भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले देशले फेरि अर्को आन्दोलन थेग्न सक्ने स्थिति पनि छैन, चुनावको तयारीमा पनि लाग्नुपर्नेछ । त्यसैले सबै पक्षसँग संवाद गर्ने नीति सरकारले लिएको हो ।’ प्रसाईंको समेत पत्र प्राप्त भएपछि मन्त्रालयले २६ कात्तिकमा उनीसँग वार्ता गर्ने तयारी गरेको छ । त्यसमा गृहमन्त्री अर्याल स्वयंले उनीसँग कुराकानी गर्नेछन् ।
प्रसाईं देश अहिले पृथ्वीनारायण शाहले एकीकरण गरेयताकै कठिन अवस्थामा रहेको र सुरक्षा व्यवस्था एकदमै फितलो रहेको जिकिर गरिरहेका छन् । यस्तोमा देश जोगाउन निर्णायक आन्दोलन गर्न लागेको उनको दाबी छ । ‘विगतमा ७ मंसिरमा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि देशबाट हिन्दुराष्ट्र र राजसंस्था हटेको थियो, त्यसैले त्यही दिन (७ मंसिर) बाट आन्दोलनको सुरुवात गर्न लागेका छौं,’ उनले कान्तिपुरसँग भने ।
माओवादी हुँदै राजावादीको बाटोमा
अहिले राजसंस्था र हिन्दु राज्यको माग राख्दै खरो उत्रिने पात्रको परिचय बनाएका प्रसाईं कुनै बेला गणतन्त्रको माग राखेर सशस्त्र विद्रोह गर्ने माओवादीका प्रिय पात्र थिए । झापाका पुराना कम्युनिस्ट नेताहरूका अनुसार, मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा छँदा तत्कालीन विद्राही माओवादीलाई यथासक्य सहयोग पनि गरेका थिए ।
त्यही कारण उनले सैनिक हिरासतसमेत बस्नुपरेको थियो । ‘उहाँको परिवारभित्र एउटा विवाद पनि थियो, त्यो मिलाउन माओवादीले सहयोग गर्छन् भन्ने त्यसबेला उहाँलाई परेको हुन सक्छ,’ झापाका एक कम्युनिस्ट नेताले भने, ‘राज्यका निकाय र अरूबाट साथ नपाएका बेला उहाँले तत्कालीन विद्रोही समूहलाई गाडी सहयोग गर्नुहुन्थ्यो, नेताहरूलाई सेल्टर दिनुहुन्थ्यो ।’ पछि उनले पारिवारिक मुद्दा जिते, बिर्तामोडमा जग्गा व्यापारसमेत गरे । अनि, आर्थिक हैसियत बलियो बनाउँदै लगे । माओवादीले सशस्त्र संघर्ष थाल्नुअघि चाहिँ उनले भैंसी व्यापारसमेत गरेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि अध्यक्ष पुष्पकमल दाहालसँग समेत प्रसाईंको निकटता बढ्न थालिसकेको थियो । तर, जतिबेला प्रसाईंले बिर्तामोडमा अस्पताल बनाउने योजना बनाए, धेरैले उनलाई विश्वास गरेनन् । ‘धेरैले मलाई पत्याएनन्,’ उनी स्वयंले भन्ने गरेका छन् । पछि दाहाललाई लगेर उनले बिर्तामोडमा ७ सय शय्या क्षमताको अस्पताल नै उद्घाटन गराए ।
खासमा अस्पताल निर्माण थालेपछि उनी झापामा पुग्ने जुनसुकै पार्टीका नेतालाई स्वागत गर्न विमानस्थल पुग्थे, उनीहरूका लागि गाडीको व्यवस्थापन गर्थे । त्यसरी उनले राजनीतिक सम्बन्धको दायरा फराकिलो बनाउँदै लगेका थिए । बदलामा उनको एउटै माग हुन्थ्यो, ‘बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सहयोग गरिदेऊ ।’
पछि एमाले र माओवादीबीच एकता गर्ने उद्देश्यसहित एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच छलफल भइरहेका बेला प्रसाईं सामाजिक सञ्जालमा भाइरल भए । अरू बेला दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच पटक–पटक निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको मानभवनस्थित घरमा गोप्य छलफल हुन्थ्यो, तर ६ फागुन २०७४ मा संवादका लागि ओली–दाहालले प्रसाईंको भक्तपुरस्थित निवास रोजे । त्यसबेला मेडिकल व्यवसायी प्रसाईंले दुई नेतालाई मार्सी चामलको भात खुवाएको तस्बिरले उनी चर्चामा आएका थिए । त्यो तस्बिरसमेत उनी निकटस्थहरूले नै सार्वजनिक गरेका थिए ।
दाहालसँग नजिक भएर सम्बन्धन पाउन नसकेका प्रसाईं एमाले र माओवादी मिलेर नेकपा बनेपछि ओलीसँग नजिकिए । ओलीलाई प्रमुख अतिथि बनाएर १६ फागुन २०७७ मा बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गराए । त्यसबेला प्रधानमन्त्री रहेका ओलीले ‘बीएन्डसीले चाँडै सम्बन्धन पाउने’ समेत घोषणा गरेका थिए । तर, चिकित्सा शिक्षा आयोगले बीएन्डसीको पक्षमा निर्णय नलिएपछि पदाधिकारीसँग समेत प्रसाईंको विवाद भयो, विवाद मुद्दा मामिलासम्मै पुग्यो । पछि उनी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्र बनेनन्, एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत मनोनीत भए ।
२०७९ मा उनले झापा ३ बाट उम्मेदवार बन्ने गरी गृहकार्यसमेत गरेका थिए । तर, उनलाई प्रदेशसभामा उठ्न भनियो, तर प्रसाईं तयार भएनन् । त्यसपछि उनले न टिकट पाए, न उनको मेडिकल कलेजले नै सम्बन्धन पायो । त्यसपछि उनले ओलीसँग समेत दूरी बढाउन थालेका थिए । ‘मैले दुई पार्टी एक भए देशले निकास पाउँछ भनेर प्रचण्ड र ओलीलाई घरमा बोलाएको थिएँ,’ उनले हालै पत्रकारहरूसँगको छलफलमा भनेका थिए, ‘मेरो एउटै लोभ थियो सम्बन्धनको, अरू कुनै स्वार्थ थिएन ।’
सम्बन्धन पाएको भए सायद आफू व्यवसायी भएर पूर्वतिरै बस्न सक्नेसमेत उनले सुनाएका थिए । ‘त्यस्तो भएको भए यो ठाउँमा आउने थिइनँ होला, नदिएको पनि राम्रै भएछ क्यारे,’ उनले भने, ‘किनभने, यो ठाउँमा आइयो, बुझाउन पाइयो नेपालीलाई ।’
ओली–दाहालबाट मेडिकल कलेजका लागि साथ नपाएको निष्कर्षमा पुगेका बेला उनले २०७९ मा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर नागरिक बचाउ महाअभियान घोषणा गरे । प्रसाईंले त्यसबेला गरेको दाबीअनुसार, उनले अभियानमा आउन भन्दै सबै दलका शीर्ष नेतालाई समेत बोलाएका थिए । तर, राजनीतिक दलका कोही नेताहरू पुगेनन्, बरु त्यही अभियानका कारण उनी १३ फागुन २०७९ मा एमालेबाट निष्कासनमा परे । त्यसपछि उनी पूर्णतः राजावादी बन्दै गए । बैंक, लघुवित्त र सहकारीका ऋणीहरूको पक्षमा खरो अभिव्यक्ति दिँदै अभियन्ता बन्ने बाटोतिर लागे ।
दलहरूबाट टाढिएका उनले पूर्वराजा शाहसँग समेत भेटघाट बढाए । दमकमा रहेका बेला पूर्वराजा शाहसँग उनको घण्टौं कुराकानीसमेत भयो । पछि १५ चैतमा उनीसहितको समूहले राजसंस्था फर्काउने भन्दै आन्दोलन घोषणा गर्यो । तर, आन्दोलनमा दुई जनाको ज्यान गयो, दर्जनौं घाइते भए । प्रसाईं पक्राउ परे, हिरासतमा छँदा उनलाई राप्रपा र राजावादीहरूको सद्भाव देखिएन । राप्रपाका नेताहरूले समेत आरोप उनीतिरै पन्छाउँदै आफूहरू टक्टकिए । त्यसयता उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध समेत खरो अभिव्यक्ति दिँदै आएका छन् भने हिन्दुराष्ट्र र राजसंस्था फर्काउने भन्दै आफूले छुट्टै अभियान घोषणा गरेका छन् ।
१५ चैतको विध्वंसयता उनले आफूलाई भारतको समेत साथ रहेको दाबी गर्दै आएका थिए । खासगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको साथ उनलाई रहेको अनुमान गरिएको थियो । तर, १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनी भागेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पुग्दा त्यहाँ सहयोग पाएनन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार, प्रसाईं त्यसबेला सहयोग खोज्दै प्रयागराज, लखनऊ र नयाँदिल्लीसमेत पुगेका थिए । तर, सहयोग हुने अवस्था नदेखेपछि पूर्वोत्तर भारतको आसाममा पुगेका थिए । प्रसाईं बसेको घरसमेत एक स्थानीय नेताको भएको प्रहरी बताउँछ । त्यो बेला भएको अनुसन्धानले पनि उनको सम्बन्ध भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रदेशस्तरीय नेताहरूसँग रहेको खुलेको थियो ।
त्यसयता समेत उनले भारतसँग आफ्नो राम्रो सम्बन्ध रहेको देखाउने कोसिस गर्दै आएका थिए । तर, शुक्रबार दिल्लीबाट काठमाडौं आउने क्रममा भारतीय अध्यागमनको केरकारमा परे । दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय अधिकारीहरूले ४५ मिनेट रोकेका थिए । पछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय पक्षसँग कुराकानी गरेपछि बल्ल उनी स्वदेश फर्किन पाएका हुन् । यसरी माओवादी–एमाले–पूर्वराजा हुँदै भारतसँगको निकटता दाबी गर्दै आएका प्रसाईंले अब कसको सहारा लिन्छन् ? जिज्ञासा बढेको छ ।
