बहुमत नपुग्दा जितेन्द्र सोनार नेतृत्वको प्रदेश सरकार २५ दिनमै ढल्यो
What you should know
काठमाडौँ, जनकपुरधाम — माओवादीको आन्तरिक द्वन्द्वले मधेश प्रदेशमा गठनको एक महिना नपुग्दै सरकार ढलेको छ । जेन–जी आन्दोलनपछि सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएको माओवादी प्रतिबद्धताविपरीत प्रस्तुत भएपछि शनिबार लोसपाका नेता जितेन्द्र सोनार नेतृत्वको सरकार ढलेको हो । यो सरकार २५ दिनअघि मात्र गठन भएको थियो ।
मधेश प्रदेशसभामा माओवादी नेता मात्रिका यादव र अर्को पक्षबीच आन्तरिक द्वन्द्वले संसदीय दल एकमत हुन सकेन । प्रदेशसभामा ९ सदस्य रहेको माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत नदिने अडान लिएका थिए, जसका कारण सोनार बहुमत जुटाउन असफल रहे ।
यादव पक्षले भरतप्रसाद साहलाई संसदीय दलको नेता बनाएपछि अन्सारी र कर्ण असन्तुष्ट थिए । साहले आफू र अर्का एक सांसदको नाम मन्त्रीका लागि अघि बढाएपछि अर्को पक्ष असन्तुष्ट बनेको थियो । सोनारको सरकार अल्पमतमा पर्ने भएपछि संयोजक पुष्पकमल दाहालले पटकपटक अन्सारीलाई फोन गरे पनि उठाएनन् ।
यसअघि अन्सारी दाहालनिकट थिए । तर, पछिल्लो समय उनले केन्द्रले ‘सिन्डिकेट’ लगाउनु गलत भएको बताउँदै आएका थिए । ‘केन्द्रको निर्देशन होइन, आफ्नो निर्णय आफैं गर्नुपर्छ भनेर म जितेन्द्र नेतृत्वको सरकारलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हुँ,’ उनले भने, ‘दलका सरकारले मधेशमा नैतिक धरातल गुमाइसकेका छन् । यतिबेला सरकारमा जानु हुँदैन भन्ने मत थियो, तर पार्टीले मानेन । अनि सरकारको विपक्षमा उभिने निर्णय लिएँ ।’ उनले सडकबाट जेन–जीलगायत जनताका मुद्दा उठाउनुपर्ने बताए ।
मधेशमा नेता यादव र गिरिराजमणि पोखरेलबीच संघर्ष चल्दै आएको छ । पोखरेल समूहमा रहेकी कर्णले सोनारलाई समर्थन नगर्ने बताएकी थिइन् । संस्थापन पक्षका नेता यादवले पार्टी नीतिविपरीत जाने प्रदेशसभा सांसदले आत्मालोचनासहित एमालेबाहेक गठबन्धन सरकारलाई समर्थन गर्नुपर्ने बताए । ‘हामी मधेशमा एमालेबाहेक गठबन्धन सरकार बनाउन चाहन्छौं । तर दुई सांसदले समर्थन नगर्दा जितेन्द्रजीको सरकारले बहुमत ल्याउन सकेन,’ उनले भने, ‘यो पार्टीभित्र दण्डहीनता मौलाएको उदाहरण हो । पार्टी निर्णयविपरीत जानेले आत्मालोचना गर्नुपर्छ । त्यो नगरे पार्टीले कारबाही गर्नुपर्छ ।’ संसदीय दलका नेता साहले अन्सारी र कर्णले पार्टी निर्णयको गम्भीर उल्लंघन गरेको उल्लेख गर्दै संसदीय दलले आवश्यक निर्णय गर्ने बताए ।
सोनारलाई जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थन थियो । मधेशमा जसपा नेपालका १८, जनमतका १३, माओवादीका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्, जसमध्ये जसपा नेपाल र लोसपाका १/१ सांसद निलम्बनमा छन् । माओवादीका दुई सांसदले समर्थन गरेको भए सोनार सरकारलाई बहुमत पुग्थ्यो । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा हाल १ सय ४ सांसद कायम छन् । बहुमतको सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ ।
परामर्शमा प्रदेश प्रमुख
मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीले विज्ञसँग परामर्श थालेकी छन् । यसका कारण थप २ दिन सरकार गठनका लागि आह्वान नहुने भएको छ । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलका नेता तथा प्रतिनिधिसँगको भेटमा छलफलका लागि समय मागेकी हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम संसद्को सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने हल्ला चलेपछि एमालेबाहेकका दलहरू भेटघाटका लागि गएका थिए । आइतबार साँझ कांग्रेस, जसपा नेपाल, लोसपा, माओवादी, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्तिका सांसदहरूले संयुक्त रूपमा प्रदेश प्रमुख भण्डारीलाई भेटेका हुन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानअनुसार अगाडि बढ्ने आश्वासन दिएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । उनका अनुसार संविधान र कानुनविद्सँग परामर्श लिन दुई/तीन दिन चाहिने हुनाले नयाँ सरकार गठनका लागि तत्काल आह्वान नगर्ने बताएकी छन् ।
