बुधबार ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित हुँदै भीम रावलको ‘मातृभूमि जागरण अभियान’

एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका रावल नयाँ नेकपामा सामेल हुने भएका हुन् । 

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Bhim Rawal's 'Matribhumi Jagran Abhiyan' to join 'Nepali Communist Party' on Wednesday

What you should know

काठमाडौँ — एमालेका पूर्व उपाध्यक्ष भीम रावल  माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् ।  एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । 

नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय जागरण अभियानसँग पार्टी समायोजन कार्यक्रम राखिएको छ । बुधबारको कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा संयोजक दाहाल, सहसंयोजक नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशीसँग आइतबार भएको छलफलमा रावलले राष्ट्रियतालगायतमा विषयमा विचार मिलेकाले पार्टीमा सामेल हुने बताएका थिए । छलफलमा सहभागी एक नेताका अनुसार रावललाई एमाले, २०७५ मा एमाले र माओवादीबीच एकतापछि बनेको नेकपाको पद र वरीयतालाई आधार बनाई नयाँ नेकपामा वरीयता दिने करिब निश्चित भएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव छ । रावल नयाँ नेकपामा सामेल भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सकारात्मक प्रभाव पार्ने दाहाल र नेपालको बुझाइ छ ।

एमालेले पार्टीको नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै २०८१ पुसमा रावललाई संगठित सदस्यसमेत नहरने गरी कारबाही गरेको थियो । २०७८ मंसिर चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि उनले केपी ओली शर्मासँग प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा पराजित भएपछि उनी ओलीको कडा आलोचकका रुपमा प्रस्तुत हुँदै आएका थिए ।

कान्तिपुर

Link copied successfully