अब फागुन २१ को निर्वाचनबाटै नयाँ संसद् आउनेछ : महामन्त्री थापा

'फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,' थापाले लेखेका छन्।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

A new parliament will be formed from the Falgun 21 election: General Secretary Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को निर्वाचनलाई लिएर द्विविधा नपाल्न आग्रह गरेका छन्। उनले कांग्रेसले उक्त निर्वाचनमा भाग लिने र सफल बनाउन पनि भूमिका खेल्ने बताए।

सोमबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै महामन्त्री थापाले अब फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने दाबी समत गरेका छन्। 'फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,' थापाले लेखेका छन्।

उनले कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीले यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको भन्दै केन्द्रीय कार्यसम्पादन समितिले पनि यही निर्णय लिएको जानकारी गराएका छन्। 

उनले कांग्रेसमा अहिले भइरहेको अलमल निर्वाचनका विषयमा नभइ पार्टीको महाधिवेशनको विषयमा भएको स्पष्ट पारेका छन्। 'निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि  अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो। अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन,' उनले लेखेका छन्, 'नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।'

कान्तिपुर संवाददाता

Link copied successfully