संसद् विघटनविरुद्ध कांग्रेसका निवर्तमान सांसदको हस्ताक्षर संकलन जारी

विघटित प्रतिनिधिसभाका सांसदको हस्ताक्षर संकलन गरेर विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने निर्णय लिन केन्द्रीय समितिमा बुझाइने

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Signature collection of outgoing Congress MPs against dissolution of Parliament continues

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन थालेको छ । संसद् विघटन असंवैधानिक भएको बताउँदै आएको कांग्रेसले विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन थालेको हो । 

विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन कार्य सुरु गरिएको जानकारी दिए । 'विघटनलाई असंवैधानिक भनेर पार्टीले भन्दै आएको छ । तर, पुनःस्थापनाका सम्बन्धमा के निर्णय लिने भन्ने यकिन भइसकेको छैन,' घिमिरेले भने, 'पार्टी केन्द्रीय समितिले विघटनका सम्बन्धमा आधिकारिक निर्णय गर्नुपर्छ भनेर सांसदहरूको हस्ताक्षर संकलन थालिएको हो ।'

शनिबारदेखि विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन कार्य थालिएको घिमिरेले जानकारी दिए । संकलित हस्ताक्षर केन्द्रीय समितिको चालु बैठकमा बुझाउने तयारी रहेको उनले बताए । 'हामीले सिधै अदालतमा रिट लिएर बुझाउनका लागि हस्ताक्षर संकलन गरिएको होइन । केन्द्रीय समिति बैठकमा बुझाएर त्यहाँबाट निर्णय लिनुपर्ने हुन्छ,' उनले भने । 

राजनीतिक रूपमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आएको कांग्रेसले निवर्तमान सांसदका हस्ताक्षर संकलन गरेपछि के कदम चाल्ने भन्ने केन्द्रीय समितिबाट निर्णय लिनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १७ वटा रिट निवेदन परेका छन् । सर्वोच्चले विघटनविरुद्धका रिटमा विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयलगायतबाट लिखित जवाफ माग गरिसकेको छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully