माओवादीको आन्तरिक द्वन्द्वले मधेश सरकार अस्थिर

मधेश प्रदेशसभामा नेता मातृका यादव र अर्को पक्षबीच आन्तरिक द्वन्द्वका कारण त्यहाँको संसदीय दल एकमत हुन सकेन । प्रदेशसभामा नौ सदस्य रहेको माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत नदिने अडान लिएपछि सोनारले बहुमत जुटाउन असफल रहे ।

कार्तिक २३, २०८२

गंगा बीसी

Maoist internal conflict destabilizes Madhesh government

What you should know

काठमाडौँ — मधेश प्रदेशमा (पूर्व) माओवादीको आन्तरिक द्वन्द्वका कारण सरकार अल्पायुमै ढल्यो । जेन–जी आन्दोलनपछि सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएको माओवादी पूर्व प्रतिबद्धताविपरीत प्रस्तुत भएपछि लोकतान्त्रिक समाजवादीका नेता जितेन्द्र सोनार सोनालको सरकार २५ दिनमै शनिबार ढल्यो ।

मधेश प्रदेशसभामा नेता मातृका यादव र अर्को पक्षबीच आन्तरिक द्वन्द्वका कारण त्यहाँको संसदीय दल एकमत हुन सकेन । प्रदेशसभामा नौ सदस्य रहेको माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत नदिने अडान लिएपछि सोनारले बहुमत जुटाउन असफल रहे ।

सचिवालय सदस्य मातृका यादव पक्षले भरतप्रसाद साहलाई संसदीय दलको नेता बनाएपछि अन्सारी र कर्ण असन्तुष्ट थिए । साहले आफू र अर्को एकजनाको नाम मन्त्रीका लागि अघि बढाएपछि अर्को पक्ष असन्तुष्ट बनेको थियो । सोनार सरकार अल्पमतमा पर्ने भएपछि संयोजक पुष्पकमल दाहालले पटकपटक अन्सारीलाई फोन गरे पनि उठाएनन् । माओवादी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पक्षधर माला कर्णलाई सहमत बनाए पनि अन्सारीले सोनारलाई समर्थन गर्न मानेनन् ।

मधेश प्रदशेमा नेता मातृका यादव र गिरिराजमणि पोखरेल (श्रेष्ठ पक्ष) बीच संघर्ष चल्दै आएको छ । पोखरेल समूहमा रहेकी कर्णले सोनारलाई समर्थन नगर्ने बताएकी थिइन् । यसअघि अन्सार संयोजक दाहाल निकट थिए । केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले पछिल्लो समय केन्द्रको ‘सिन्डिकेट’ लगाउनु गलत भएको बताए ।

‘केन्द्रको निर्देशन होइन, आफ्नो निर्णय आफैं गर्नुपर्छ भनेर मैले जितेन्द्र सरकारलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हुँ,' उनले भने, ‘दलका सरकारले मधेशमा नैतिक धरातल गुमाइसकेका छन् । यतिबेला सरकारमा जानु हुँदैन भन्ने मत थियो । तर पार्टीले मानेन । मैले सरकारको विपक्षमा उभिने निर्णय लिएँ ।’ उनले पार्टीमा आन्तरिक लोकतन्त्र नभएको उल्लेख गर्दै सत्तामा जाने कुरा गर्नु गलत भएको बताए । ‘पार्टीले सडकबाट जेन–जीलगायत जनताका मुद्दा उठाउनुपर्छ,’ उनले भने, ‘सत्तामा जाने हाम्रो नीति हुनुहुँदैन ।’

संस्थापन पक्षका नेता मातृका यादवले पार्टी नीति विपरीत जाने प्रदेश सभा सांसदले आत्मालोचनासहित एमाले बाहेक गठबन्धन सरकारलाई समर्थन गर्नुपर्ने बताए । ‘हामीले मधेशमा एमाले बाहेक गठबन्धन सरकार बनाउन चाहन्छौँ । तर पार्टी दुई सांसदले समर्थन नगर्दा जितेन्द्रजीको सरकारले बहुहमत ल्याउन सकेन,’ उनले भने, ‘यो पार्टीभित्र दण्डहीनता मौलाएको उदाहरण हो । पार्टी निर्णयविपरीत जानेले आत्मालोचना गर्नुपर्छ । त्यो नगरे पार्टीले कारबाही गर्नुपर्छ ।’ 

माओवादीको अर्का एक नेताले मुख्यमन्त्री सोनारलाई समर्थन गर्न अस्वीकार गरेको प्रदेश सांसद रहबर अन्सार पूर्व माओवादी उपमहासचिव जनार्दन शर्मातिर जान खोजेको बताए । तर अन्सारीले भने आफूले आफ्नो निर्णय आफैं गरेको बताए । 

‘म कुनै पनि सरकारलाई मत दिन्नँ । अहिले सरकारमा जाने बेला होइन,’ उनले भने । 

संसदीय दलका नेता साहले अन्सारी र कर्णले पार्टी निर्णयको गम्भीर उल्लंघन गरेको उल्लेख गर्दै संसदीय दलले आवश्यक निर्णय गर्ने बताए । ‘पार्टी निर्णय जानु गम्भीर अनुशासनको उल्लंघन गर्नु हो । संसदीय दल बसेर आवश्यक निर्णय गर्छौँ,’ उनले भने ।

माओवादी नेता यादवका अनुसार आफ्ना दुई सांसदलाई सहमत गराएर एमाले बाहेक सरकार बनाउने प्रयास भइरहेको बताए । ‘एमाले बाहेक गठबन्धन सरकार बनाउने प्रयास भइरहेको छ,’ उनले भने ।

नेता पोखरेलले संयोजक दाहालकै सामु नै आफूले सांसद कर्णलाई टेलिफोन गरी सरकारलाई समर्थन गर्न आग्रह गरेको उल्लेख गर्दै सरकार असफल हुनुमा आफूलाई जोड्न गलत भएको बताए ।

‘मैले प्रचण्ड सामु नै माननीय माला कर्णलाई टेलिफोन गरी सरकारको पक्षमा मत दिन आग्रह गरेको हुँ,’ उनले भने, ‘असहमति भए पार्टीभित्रै छलफल गरी समाधान निकाल्न सकिन्छ । सरकारलाई समर्थन गर्नुस् भनेको थिएँ ।

सोनाललाई जसपा नेपालका १८, जनमतका १३, माओवादीका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो । माओवादीका दुई सांसदले समर्थन गरेको भएको भए सोनार सरकारलाई बहुमत पुग्थ्यो । एमाले, जसपा नेपाल र लोसपाका १/१ सांसद निलम्बन परेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा हाल १ सय ४ सांसद कायम छन् । बुहमत सरकार बनाउन ५३ सांसद आवश्यक हुन्छ ।

गंगा

Link copied successfully