नयाँ नेकपामा सामेल हुँदै एमाले पूर्व उपाध्यक्ष रावल

एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुन सकारात्मक रहेको छलफलमा सहभागी एक नेताले बताए ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Former UML Vice President Rawal joins new NCP

What you should know

काठमाडौँ — माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा सामेल हुन एमालेका पूर्व उपाध्यक्ष भीम रावल सकारात्मक भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुन सकारात्मक रहेको छलफलमा सहभागी एक नेताले बताए ।

नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु प्रकाश ज्वाला, भानुभक्त जोशीसँग आइतबार भएको छलफलमा रावलले राष्ट्रियता लगायतमा विषयमा विचार मिलेकाले पार्टीमा सामेल हुने बताएका छन् । छलफलमा सहभागी एक नेताका अनुसार रावललाई एमाले, २०७५ मा एमाले र माओवादीबीच एकतापछि बनेको नेकपाको पद र वरियतालाई आधार बनाई नयाँ नेकपामा वरियता दिने करिब निश्चित भएको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव छ । रावल नयाँ नेकपामा सामेल भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सकारात्मक प्रभाव पार्ने दाहाल र नेपालको बुझाइ छ । 

अब एक, दुई चरण छलफलपछि नेकपामा सामेल हुने निष्कर्षमा पुर्‍याउने तयारी छ । सहमतिपछि कात्तिक २७ मा एकता कार्यक्रम आयोजना गर्ने नेकपाका एक नेताले जानकारी दिए । 

‘करमेड भीम रावलसँग छलफल सकरात्मक भयो,’ बैठकमा सहभागी नेता प्रकाश ज्वालाले भने, ‘सहकार्य गरेर जानेमा विमति छैन ।’ 

एमालेले पार्टीको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै २०८१ पुसमा रावललाई संगठित सदस्यसमेत नहरने गरी कारबाही गरेको थियो । २०७८ मंसिर चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि उनले केपी ओली शर्मासँग प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा पराजित भएपछि उनी ओलीको कडा आलोचकका रुपमा प्रस्तुत हुँदै आएका थिए ।

कान्तिपुर

Link copied successfully