जेन-जी आन्दोलनपछि पनि दलहरूको मति उस्तै

प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि शनिबार साँझ सोनलले पदबाट राजीनामा दिएका हुन् । 

कार्तिक २३, २०८२

कमलेश ठाकुर

Even after the Gen-G movement, the parties' opinions remain the same

What you should know

सरकारलाई समर्थन गरेका दलका सांसदले नै विश्वासको मत नदिने घोषणा गरेपछि लोसपा नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वको मधेश प्रदेश सरकार २५ दिनमै ढलेको छ । प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि शनिबार साँझ सोनलले पदबाट राजीनामा दिएका हुन् । 

सोनल गत २९ असोजमा ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । सोनललाई त्यति बेला जसपा नेपालका १८, जनमतका १३, माओवादीका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो ।

त्यसबाहेक नागरिक उन्मुक्तिकी सांसद उर्मिलादेवी सिंहको पनि समर्थन थियो । तर सोनल मुख्यमन्त्रीमा नियुक्त भएकै दिन जनमत पार्टीका सांसद पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह र सांसद त्रिभुवन साहले जनस्वराज पार्टी रोजेपछि सोनल सरकार धरापमा परेको थियो । सिंह र साह विश्वासको मतदानका दिन अनुपस्थित भए ।

शनिबारको बैठकमा सत्ता साझेदार दल माओवादीकै दुई सांसदले पनि मतदान नगर्ने उद्घोष गरे । संघीय समाजवादीकी सांसद विमला अन्सारी तरन्नुम पनि बैठकमा अनुपस्थित भइन् । उनले पनि सुरुमा समर्थन गर्ने बताएकी थिइन् । ‘पार्टीको केन्द्रबाट नै तटस्थ बस्ने निर्णय भएकाले शनिबारको बैठकमा गइनँ,’ उनले भनिन्, ‘मैले पहिला पनि सरकारलाई समर्थन गर्ने आश्वासन दिएको थिइनँ । तर, उहाँहरूको एउटा बैठकमा सहभागी भएकी थिएँ ।’

सोनललाई समर्थन गरेको दल जनता समाजवादी पार्टीका सांसद सरोज सिंह कुशवाह भ्रष्टाचार मुद्दाका कारण ३१ असोजदेखि निलम्बनमा छन् । विश्वासको मत पाउने निश्चित नदेखिएपछि सोनलले मतदान प्रक्रियामा नजाँदै राजीनामा गरेका हुन् । सोनललाई समर्थन गरेका दलका नेता तथा सांसदहरूले भने पूर्वाग्रही भएर सभामुखले बैठक सञ्चालन गरेको भन्दै प्रदेशसभा हल बाहिर आएर नाराबाजी गरेका थिए । 

मुख्यमन्त्री सोनलले पनि पदबाट राजीनामा दिनुअघि सभामुख रामचन्द्र मण्डलले विधिअनुसार सदन सञ्चालन नगरेको आरोप लगाए । सोनल र उनी समर्थित दलका नेताहरूले विश्वासको मतमाथिको मतदान एक घण्टा स्थगित गरिदिन सभामुख मण्डलसँग अनुरोध गरेका थिए । तर सभामुख मण्डलले विश्वासको मत मागिसकेपछि मतदानमा जानुपर्ने, प्रदेशसभा कार्य सञ्चालन नियमावलीअनुसार बैठक सञ्चालन हुने भन्दै मतदानमा जान निर्देशन दिएका थिए । 

सभामुखले बैठक कक्ष बाहिर रहेका प्रदेशसभा सदस्यहरूलाई तीन मिनेटमा भित्र आउन अनुरोध गर्दै घन्टी बजाएका थिए । त्यतिबेला हलभित्र सोनल समर्थित सांसद र सभामुख मण्डलसँग जुहारी चलेको थियो । सोनल र उनले नियुक्त गरेका मन्त्रीद्वय महेशप्रसाद यादव र कनिश पटेल भने बैठक कक्षभन्दा बाहिर थिए । सोनल समर्थित सांसदहरूले सरकारको प्रतिनिधिको अनुपस्थितिमा सभा सञ्चालन गर्न नमिल्ने बताइरहेका थिए । सभामुख मण्डलले भने सरकारकै नेतृत्वकर्ताले समय माग गरेअनुसार सभा सञ्चालन गरिरहेको बताइरहेका थिए । 

सभामुख मण्डलले कार्यसूचीलाई उछिनेर माओवादीका प्रदेशसभा सदस्य रहबर अन्सारीलाई बोल्न समय दिएका थिए । सांसद रहबरले मतदान नगर्ने उद्घोष गर्दै सांसद र दलहरूको अस्तित्व समाप्त भएको भनी आफ्नै अनुहारमा कालो मसीसमेत दलेका थिए । ‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले भने, ‘मधेशका ६४ लाख जनताको अवस्था के छ ? कुन समस्या हामीले समाधान गर्‍यौं ?’ 

माओवादीकै सांसद माला कर्णले पनि कुर्सीबाट उठेर अन्सारीको उद्घोषमा समर्थन जनाउँदै आफूले पनि मतदान नगर्ने बताइन् । उनले आफ्नो पार्टीभित्र लोकतन्त्र समाप्त भएको हुनाले मतदान नगर्ने तर्क गरेकी थिइन् । यस विषयमा पनि सोनल समर्थित दलहरूले आपत्ति जनाएका थिए । त्यही समय उनीहरूले सभामुखलाई ३० मिनेट मतदान रोकिदिन अनुरोध गरेका थिए । माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले परामर्श समितिको बैठकमा छलफल नै नभएको र कार्यसूचीमा पनि नभएको विषयमा सभा सञ्चालन गरिएको आरोप लगाए । सभामुखले सभा सञ्चालन गर्ने तरखर गरेपछि सोनल समर्थित दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए । 

१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा हाल १ सय ४ सांसद कायम छन् । एमाले, जसपा नेपाल र लोसपाका १/१ सांसद निलम्बन परेका छन् । हाल कायम संख्याअनुसार सरकार गठनका लागि ५३ सांसदको समर्थन चाहिन्छ । सोनलको प्रतिपक्षमा भएका दलहरूले पनि तत्काल बहुमत जुटाउन सक्ने अवस्था देखिएको छैन । 

एमालेका २३ र कांग्रेसका २२ तथा शनिबार बैठकमा अनुपस्थित सांसदहरू जनस्वराजका सतीशकुमार सिंह र त्रिभुवन साह, राप्राका सांसद कञ्चन बिच्छा र नागरिक उन्मुक्तिकी विमला अन्सारी एकजुट हुँदा पनि बहुमत पुग्दैन । कुनै दलले नयाँ सरकार गठनका लागि बहुमत जुटाएर दाबी गर्न नसके संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा एमालेले मधेश सरकारको नेतृत्व गर्नेछ ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully