पार्टीले आलमको निधनमा तीन दिन शोक मनाउने र आइतबार एक दिनका लागि केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फेरि स्थगित भएको छ । पार्टीका नेता अफताब आलमको निधनपछि बैठक आगामी कात्तिक २५ गतेसम्मका लागि सारिएको हो ।
पार्टीले आलमको निधनमा तीन दिन शोक मनाउने र आइतबार एक दिनका लागि केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
पार्टीको महाधिवेशन गर्ने विषयमा बैठकमा गम्भीर विवाद बढिरहेका बेला बैठक लगातार सारिँदै आएको छ । असोज २८ बाट सुरु भएको बैठक अहिलेसम्म सकिएको छैन ।
जेन-जी आन्दोलनपछि पहिलोपटक बसेको बैठकले औपचारिक रूपमा निर्वाचन र संसद् पुनःस्थापनामध्ये कुन विकल्पमा उभिने भन्ने निर्णय लिन सकेको छैन ।
अधिकांश नेताले निर्वाचनमा जाने धारणा राखे पनि पार्टीले अहिलेसम्म यसबारे निर्णय गरेको छैन । बैठक महाधिवेशनकै विवादमा अल्झिएको छ । नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने मुद्दाले निकास नपाउँदा कांग्रेसको प्राथमिकतामा अन्य राष्ट्रिय मुद्दा कतै देखिएको छैन । जेन-जी आन्दोलनपछि आएको नयाँ परिस्थितिमा पार्टीको राष्ट्रिय राजनीतिमा उपस्थिति कमजोर देखिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार अहिलेसम्म १०२ जना नेताले धारणा राखेका छन् भने ५३ जना नेताले बोल्न बाँकी छन् । अझै धेरै नेताले बोल्न बाँकी रहेकोले बैठक केही दिन अझै लम्बिने देखिन्छ ।
