७५ वर्षभन्दा लामो इतिहास बोकेको नेपाल कम्युनिस्ट पार्टीका अनेकौं घटकले पटकपटक एकता र विभाजनको अनुभव लिइसकेका छन् । 'नेपाली कम्यनिस्ट पार्टी' पछिल्लो सन्दर्भ मात्रै हो, जसले एकताको उदाहरण प्रस्तुत गरेको छ । तर एकता प्रक्रियामै जोडिएका दुई ठूला पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादी स्वयं चोइटिएका छन् ।
What you should know
आफूलाई कम्युनिस्ट ठान्ने १० वटा घटकले बुधबार एकता गरी 'नेपाली कम्युनिस्ट पार्टी' को घोषणा गरेका छन् । नवगठित पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरिएको छ । एक हजार केन्द्रीय सदस्य रहने यस पार्टीले आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको छ । पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ हुनेछ ।
एकता प्रक्रियामा पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी), महिन्द्रराय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी,नेपाल, चिरन पुन महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी, राजु कार्की अध्यक्ष रहेको नेकपा (समाजवादी), कर्णजित बुढाथोकी अध्यक्ष रहेको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह अध्यक्ष रहेको नेकपा (साम्यवादी), केशव दाहाल अध्यक्ष रहेको माओवादी कम्युनिस्ट केन्द्र र गोपाल किराँती अध्यक्ष रहेको देशभक्त समाजवादी मोर्चा सामेल भएका छन् ।
७५ वर्षभन्दा लामो इतिहास बोकेको नेपाल कम्युनिस्ट पार्टीका अनेकौं घटकले पटकपटक एकता र विभाजनको अनुभव लिइसकेका छन् । 'नेपाली कम्यनिस्ट पार्टी' पछिल्लो सन्दर्भ मात्रै हो, जसले एकताको उदाहरण प्रस्तुत गरेको छ । तर एकता प्रक्रियामै जोडिएका दुई ठूला पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादी स्वयं चोइटिएका छन् । ती पार्टीका केही नेताहरू एकतामा जोडिएका छैनन्, बरु नयाँ ढंगले अघि बढ्ने बताइरहेका छन् । त्यसैले यसपटक एकतासँगै विभाजन पनि भएको छ ।
०००
पुष्पलाल श्रेष्ठ नेतृत्वमा २००६ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले २०१४ सालमा दोस्रो महाधिवेशन गरेको थियो । महाधिवेशनले पुष्पलालको नीति पारित गर्यो । नेतृत्वमा भने केशरजंग रायमाझी निर्वाचित भए ।
अर्को महाधिवेशन २०१७ फागुनमा हुनुपर्ने थियो । तर पुसमै तत्कालीन राजा महेन्द्रले 'कु' गरे । रायमाझीले राजाको कदमको स्वागत गरे । महाधिवेशन नभएको पृष्ठभूमिमा देशमा घटित यति ठूलो घटनालाई बुझ्ने सवालमा पनि फरकमत देखिन थाल्यो । यसैबीच २०१९ वैशाखमा पुष्पलाल पक्षले तेस्रो महाधिवेशन गरे । यसरी यतिञ्जेल मूलभूत रुपमा एकीकृत रहेको पार्टी २०१९ मा विभाजन हुन पुग्यो । त्यसपछि त विभाजन मात्रै होइन, २० र ३० को दशकमा त कम्युनिस्ट पार्टी टुक्राटुक्रा नै हुन पुगे । चल्तीका नेताका नाम र नेतृत्वको एकएक समूह/पार्टी हुने स्थिति बन्यो । तुलसीलाल अमात्य, कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर, मनमोहन अधिकारी, पुष्पलाल जस्ता नेताकै नामबाट चिनिने पार्टीहरू अस्तित्वमा थिए ।
०००
नेकपा माले एकताको ठूलो उदाहरण हो ।
झापा जिल्ला कमिटी, नेपाल क्रान्तिकारी संगठन, मोरङसहित विभिन्न पार्टी र समूहमा रहेका कम्युनिस्ट प्रतिनिधिहरुले २०३२ जेठमा अखिल नेपाल कोअर्डिनेसन कमिटी (छोटकरीमा कोके) गठन गरेका थिए । कोकेमा सिपी मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू थिए । सीपी मैनाली सचिवका रुपमा नेतृत्वमा थिए । उनीलगायत नेतृत्वमा रहेका नेताहरू पक्राउ परे पनि कोके अघि बढिरह्यो । यसमा मुक्तिमोर्चा, पूर्वको रातो झण्डा, पश्चिमको रातो झण्डा (सन्देश) लगायतका समूह मिसिँदै गए । कोकेले २०३५ साउनमा सम्मेलन पनि गर्यो । जीवराज आश्रित तथा मदन भण्डारी लगायतमा पनि यहीँ जोडिए । पार्टी शक्तिशाली बन्दै गएपछि २०३५ पुसमा मोरङमा राष्ट्रिय सम्मेलन गरी सीपी मैनालीको नेतृत्वमा नेकपा माले गठन भयो । आजको एमालेको मूल आधार यही पार्टी हो ।
२०१९ सालमै पुष्पलालको नेतृत्वमा गठन भएको पार्टी चोइटिँदै गएको भए पनि अस्तित्वमा थियो नै । पुष्पलालको निधनपछि उनकै पत्नी साहना प्रधानले पार्टीको नेतृत्व गरिन् ।
पञ्चायत सुरु भएपछि पक्राउ परेका नेता रिहा हुँदै गएपछि मनमोहन अधिकारीको नेतृत्वमा नेकपा न्युक्लियस गठन भएको थियो । विभाजन खेपे पनि एउटा समूहको नेतृत्वमा अधिकारी रहिरहे । पछि साहना प्रधान नेतृत्वको पार्टीले मनमोहन अधिकारी नेतृत्वको पार्टीसँग एकता गरेपछि २०४३ मा नेकपा मार्क्सवादी गठन भयो ।
२०३५ सालमा गठन भएको माले र २०४३ सालमा गठन भएको मार्क्सवादीबीच २०४७ मा एकता भएपछि नेकपा एमाले गठन भएको थियो ।
०००
मनमोहन अधिकारी नेतृत्वको पार्टीलाई २०३१ सालमै विभाजन गरेका थिए, मोहनविक्रम सिंहले । नेकपा चौमका रुपमा सिंह नेतृत्वको यो पार्टी ३० को दशकभर चर्चामै रह्यो । तर २०४० सालमा विभाजन भयो- मोहन विक्रम सिंहकै नेतृत्वमा नेकपा मशाल (मोटो मशाल) नयाँ पार्टीको रुपमा अस्तित्वमा आयो । नेकपा चौमलाई निर्मल लामाले निरन्तरता दिए ।
सिंह नेतृत्वको पार्टी पुनः विभाजन भयो । २०४२ सालमा मशाल (मोटो मशाल) को नेतृत्वमा मोहन वैद्य आए । सिंहको नेतृत्वमा नेकपा मसाल (पातलो मसाल) अस्तित्वमा आयो ।
सेक्टर काण्डपछि वैद्य नेतृत्वको नेकपा मशाल (मोटो मशाल)को नेतृत्वमा पुष्पकमल दाहाल आए । त्यसपछि उनले बृहत् एकतालाई प्राथमिकता दिए । जसअनुसार, उनकै नेतृत्वमा एकता केन्द्र बन्यो । जसमा मोहन विक्रम सिंहबाट विद्रोह गरेर बाबुराम भट्टराईहरू मिसिए । त्यस्तै, निर्मल लामा नेतृत्वको नेकपा चौम पनि मिसियो । यद्यपि, यो पार्टी पनि लामो समय एकताबद्ध रहन सकेन । सशस्त्र द्वन्द्वको विषयमा एक मत बन्न नसकेपछि २०५१ मा दाहाल पक्षले नेकपा माओवादी गठन गरे । र पार्टीले २०५२ देखि सशस्त्र युद्ध सुरु गर्यो ।
त्यसपछि माओवादी धार लामो समयसम्म बलियो बनिरह्यो ।
०००
बहुदलीय प्रजातन्त्रको पुनःप्राप्तिपछि २०४८ र २०५१ मा भएका आमनिर्वाचनमा बलियो शक्तिको रुपमा स्थापित भएको नेकपा एमाले २०५४ मा विभाजन हुन पुग्यो । २०५३ असोजमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकद्वारा पारित भएको विवादास्पद महाकाली सन्धीपछि पार्टीमा बढ्दो मतभेद विभाजनमा पुगेर टुंगिएको थियो । २०५४ मा सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले एमाले विभाजन गरी नेकपा माले गठन गरे । तर २०५६ को आमनिर्वाचनमा एक सिट पनि जित्न नसकेको मालेको मूल शक्ति २०५८ मा एमालेमै मिसियो । मैनाली लगायतले मालेलाई नै निरन्तरता दिए ।
०००
सशस्त्र द्वन्द्वबाट बलियो शक्तिको रुपमा उदायो नेकपा माओवादी । २०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनबाट पहिलो शक्ति पनि बन्यो । यसैबीच २०५१ मा विभाजन हुँदा अर्कोतर्फ रहेको मूलभूत शक्ति पुनः एकतामा जोडिन आइपुग्यो । यसरी नेकपा माओवादी र एकता केन्द्र मसालबीच एकता भएपछि एकीकृत नेकपा माओवादी बन्यो । एकतालाई अस्वीकार गरेका मातृका यादवले नेकपा माओवादीलाई नै निरन्तरता दिए । तर, २०६९ मा मोहन वैद्यको नेतृत्वमा माओवादी दुई फ्याक भयो । वैद्य नेतृत्वको पार्टीलाई पनि नेत्रविक्रम चन्दले विभाजन गरे । एमाओवादीबाट २०७२ मा बाबुराम भट्टराई पनि अलग्गिए । उनले नयाँ शक्ति गठन गरे ।
२०७३ जेठमा भने १० वटा माओवादी घटकबीच बृहत् एकता भयो । त्यतिबेला पुष्पकमल दाहाल एकीकृत नेकपा माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भविसोर पराजुली गौरवशाली पार्टी नेपाल, वामपन्थी एकता मञ्चबीच एकता भएको थियो । त्यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाट विभाजित तिलक परियार नेतृत्वको विद्रोही समूह, रामबहादुर थापा नेतृत्वको पुनर्गठित नेकपा क्रान्तिकारी–माओवादी, नयाँ शक्ति अभियानका विद्रोही समूह, नेकपा माओवादी विद्रोही र स्वतन्त्र माओवादी नेता जयपुरी घर्ती एकतामा जोडिएका थिए ।
०००
यतिञ्जेल ३० को दशकका माले र चौमबाट विकसित दुई धारका कम्युनिस्ट पार्टीहरू नेपालमा प्रभावशाली थिए । माले र चौम विरासतलाई बोकिरहेका थिए क्रमशः एमाले र माओवादी केन्द्रले । यी दुई पार्टीबीच पनि २०७५ जेठमा एकता भयो । २०७४ को निर्वाचनमै वाम गठबन्धन बनाएका र पार्टी एकताको वाचा गरेका उनीहरूबीच २०७५ जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । दुई धारका कम्युनिस्टबीचको एकतापछि इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी गठन हुन पुग्यो ।
शक्तिशाली पार्टी भए पनि नेकपामा सुरुवातदेखि नै मतभेद देखिन थालेका थिए । शक्ति संघर्ष उत्कर्षमा पुगेकै बेलामा २०७७ फागुनमा सर्वोच्चले एक फैसलामार्फत् दुई पार्टीलाई एकताअघिको स्थितिमा पुर्याइदियो । अर्थात् एकता भंग भयो । त्यतिबेला पार्टीभित्रको मतभेदका कारण सर्वोच्चको फैसलालाई प्राविधिक मात्रै ठानेर एकतालाई राजनीतिक ढंगले निरन्तरता दिने प्रयत्न समेत हुन सकेन ।
एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किएको केही महिनापछि २०७८ भदौमा एमाले पनि विभाजन भयो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टी परित्याग गरी ‘नेकपा एकता राष्ट्रिय अभियान’ सञ्चालन गरे । पछि उनी नेपाल नेतृत्वको एकीकृत समाजवादीमै जोडिए ।
अन्ततः नेपाल नेतृत्वको एकीकृत समाजवादीलगायत १० घटकले एकता गर्दै 'नेपाली कम्युनिस्ट पार्टी' गठन गरेका छन् । ध्रुवीकरणका हिसाबले एमाले र नेपाली कम्युनिस्ट पार्टी ठूला दुई धार बनेका छन् । जनसमर्थन भने परीक्षण हुन बाँकी नै छ ।
