रास्वपाले आगामी निर्वाचनमा गठबन्धन गर्ने

‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसाग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ,’ राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

RSP to form alliance in upcoming elections

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा तोकिएको निर्वाचनमा अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्ने भएको छ।

चितवनमा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सकिने उल्लेख छ। प्रतिवेदनमा कस्ता दल र राजनीतिक शक्तिसँग कार्यगत एकता गर्न सकिन्छ भन्नेबारे खुलाइएको छैन ।

तर नयाँ बन्ने दलहरुसँग यस्तो कार्यगत एकताका लागि यो विकल्प खुला गरिएको नेताहरूको भनाइ छ। पुराना राजनीतिक दलहरूको गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको रास्वपाले आगामी निर्वाचनमा भने आफैँ पनि गठबन्धन गर्ने निष्कर्षमा पुगेको हो।

यस्तो गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्नेगरी चाहिँ बनाउन नहुने प्रतिवेदनमा उल्लेख छ। ‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, 'तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन।’  

प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

‘चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ । यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक हुन्छ । कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ,' प्रतिवेदनमा उल्लेख छ।

कान्तिपुर संवाददाता

Link copied successfully