महाधिवेशनको बहस छोडेर राष्ट्रिय निर्वाचनको तयारीमा जुटौँ : प्रवक्ता महत

'अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतीबाट निकाल्न नेतृत्व गर्नुपर्छ,' महतको भनाइ छ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Let's leave the debate on the general convention behind and focus on preparations for the national election: Spokesperson Mahat

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।

केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।'  उनले अहिलेको संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।

'नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौँ। तर २४ गते भएको विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिँदैन । सिंहदरबार, सर्वोच्च, संसद्, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,' उनको भनाइ छ। उनले आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्नेमा आफूहरू पार्टीभित्रै संघर्ष गरिरहनुपर्ने स्थिति रहेको बताए। 

बीपी कोइरालालाई उद्धृत गर्दै उनले भने- 'जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ। आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झूट र आक्रमण आफ्नै विरुद्ध चर्को छ।'

उनले अहिले महाधिवेशन र विशेष अधिवेशनको बहसभन्दा पार्टीको ध्यान राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। 'अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतीबाट निकाल्ने नेतृत्व दिनुपर्छ,' महतले भने। 

कान्तिपुर

Link copied successfully