अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छ : ओली

शुक्रबार काठमाडौंमा बुद्धिजीवीसँगको भेलामा ओलीले राष्ट्रपतिले असंवैधानिक ढंगले सभा विघटन गरेकाले पुनःस्थापनाको जिम्मेवारी पनि राष्ट्रपतिमै रहेको बताए।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

If the court does not reinstate the House of Representatives, the President should do so: Oli

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बुद्धिजीवीहरूसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि राष्ट्रपतिले नै गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना अदालतले नगरे राष्ट्रपतिले गर्नै पर्ने जिकिर गर्दै आफ्नो पार्टीको माग सत्य भएको दाबी गरे । उनले सो मागको समर्थनमा आम नेपाली जनता उभिनुपर्ने आवश्यकता औँल्याए ।

ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्छ । र सो मागलाई अझ तीव्र बनाउनुपर्छ । जसले विघटन गर्छ, त्यसले नै पुनःस्थापना गर्नुपर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्न सक्ने राष्ट्रपतिले पुनःस्थापना गर्न नसक्ने कसरी हुन्छ ? पुनःस्थापना गर्नै पर्छ नि । विघटन गर्ने राष्ट्रपतिले नै पुनःस्थापना गर्नुपर्छ । यस विषयमा हामी लेख्न, बोल्न र सत्यको पक्षमा उभिन सक्नुपर्छ ।’

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित आन्दोलनमा उत्रिन सबैलाई आह्वान गरे । उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहोर्‍याए ।

कान्तिपुर

Link copied successfully