कांग्रेस पनि अन्ततः प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिन्छ : ओली

अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताए ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Congress also ultimately stands in favor of restoring the House of Representatives: Oli

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए। अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रीय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरे।

उनले भने, ‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौँ। कांग्रेससँग हाम्रो संवाद भइरहेको छ। कांग्रेस फाइनल्ली मेरो विश्वास छ–पुनःस्थापनामा पुग्छ। कुराकानी भइरहेको छ। तर अब कांग्रेस भित्र जटिलता छ।' 

अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताए ।

'अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ–शेरबहादुर जी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ। बसिदिएन भने हुँदैन। कति दिन भयो केन्द्रीय समिति बैठक बसेको, निर्णय छैन,' उनले भने, 'हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ। केन्द्रीय कमिटी बैठक ३ दिनमा सकिन्छ। ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ। सबैले बोल्छन्। पहिला नै विषय फ्लोर गरिदिएको हुन्छ। सबैले दस्ताबेजमा छलफल गर्दछन्। सबैले भाग लिन्छन् बोल्नका लागि।’

कान्तिपुर

Link copied successfully