निर्वाचन आयोग पुगेर चन्दले भने : निर्वाचनको वातावरण बनिसकेको छैन

कान्तिपथमा दल दर्ता गर्दै चन्दले चुनाव विद्रोहकै निरन्तरता भएको र नयाँ पार्टी जनताको सल्लाहअनुसार अघि बढेको स्पष्ट पारे।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Chand said after reaching the Election Commission: The environment for the election has not been created yet.

What you should know

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले निर्वाचनको वातावरण बनिनसकेको भन्दै टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको प्रतिक्रिया दिएका हुन् ।

महासचिव चन्दले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर देश र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनलाई क्रान्ति र संघर्षको नयाँ मोर्चाका रूपमा लिएको र जनताले दिएका सुझावका आधारमा पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको जिकिर गरे ।

चन्दले भने, ‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन, यो क्रान्ति र संघर्षकै एउटा नयाँ मोर्चाका रूपमा जनताको पक्षमा प्रयोग गर्नेछौँ । पार्टीबाहेक अरू साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो र जनताको सल्लाहअनुसार नै यो कदम चालिएको हो ।'

महासचिव चन्दले नयाँ कम्युनिस्ट केन्द्र निर्माणमार्फत मुलुकलाई संकटबाट निकास दिने विषयमा घनश्याम भुसाल र जनार्दन शर्मासँग छलफल भएको पनि बताए ।

उनले भने, 'हामीले तीन वटा कुरा सोचेका छौँ— पहिलो, नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि पहल गर्ने । दोस्रो, समाजवादी केन्द्र निर्माणका लागि पहल गर्ने । तेस्रो, अहिलेको अस्थिर र संकटपूर्ण राजनीतिक अवस्थाबाट देशलाई निकास दिनका लागि देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूसँग मिलेर अगाडि बढ्ने । अहिले चुनावको वातावरण बनेको छैन, त्यो सत्य हो । तर, एक दिन त चुनाव हुनेछै ।’

कान्तिपुर

Link copied successfully