बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरिएको भेलाको अध्यक्षता नै संस्थपनपक्ष निकट भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका थिए । भेलामा महामन्त्री कृष्णप्रसाद सिटौला निकट कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापाले समेत धारणा राखेका थिए ।
What you should know
काठमाडौँ — मंसिरभित्रै नियमित महाधिवेशन गराउन दबाब दिँदै कांग्रेस नेता शेखर कोइरालानिकट युवाहरुले बिहीबार भेला गरेका छन् । भेलामा संस्थापनपक्षीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरिएको भेलाको अध्यक्षता नै संस्थपनपक्ष निकट भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका थिए । भेलामा महामन्त्री कृष्णप्रसाद सिटौला निकट कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापाले समेत धारणा राखेका थिए । थापा तिनै व्यक्ति हुन्, जसले केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशन असंभव रहेको धारणा राखेका थिए ।
शेखर निकट युवा नेता दीपक भट्टराईले आफूहरुले आयोजना गरेको कार्यक्रममा संस्थापनपक्षले समेत समर्थन जनाएर उपस्थित भएको बताए । ‘हाम्रो स्पष्ट माग मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्छ भन्ने अडान हो । त्यसमा दायाँ–बायाँ गर्दैनौं । यस मुद्दामा सहमत हुने सबै जोडिन सक्नुहुन्छ,’ उनले भने,‘मंसिरभित्रै नियमित महाधिवेशन भएन भने कार्यकाल सकिएको दिनमा केन्द्रीय कार्यसमितिमा भंग गरिनुपर्छ भन्ने हाम्रो अर्को माग हो ।’
नेविसंघका पूर्वअध्यक्ष समेत रहेका युवा नेता रंजित कर्णले पनि मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् । ‘हामी महाधिवेशन प्रतिनिधिहरुको पनि म्याद सकियो, अब हामी कार्यकर्ता मात्रै छौं । मंसिरभित्र नियमित महाधिवेशन भएन भने कार्यकाल बढाउन पाइन्न, केन्द्रीय कार्यसमिति भंग गरिनुपर्छ ।’
यसअघि उनीहरुले महाधिवेशनको कार्यतालिका ल्याउन माग राख्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । ‘हाम्रो अडान मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने हो, भएन भने महामन्त्री गगन थापाले प्रस्ताव गरेको १६–१९ को मितिमा सहमतिमा गरे पनि हाम्रो समर्थन हुनेछ,’ भट्टराईले भने,‘निर्वाचन पछाडि महाधिवेशन धकेल्न पाइन्न ।’
