वैकल्पिक शक्ति निर्माण भन्दै बाबुरामले थाले संवाद 

जनार्दन शर्मा, सुदन किराँती, डीपी आर्याल, दुर्गा सोब, समीक्षा बास्कोटा लगायतसँग भट्टराईले छलफल सुरु गरेका हुन् ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Baburam started the dialogue by saying that he would create alternative power.

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संस्थापक नेता बाबुराम भट्टराईले ‘वैकल्पिक राजनीतिक शक्ति निर्माण’ का लागि छलफल गरेका छन् ।

माओवादीसँग एकतामा नगई ‘प्रतिगतिशील अभियान’ सुरु गर्ने नेता जनार्दन शर्मा, सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी आर्याल, नेसपा (नयाँ शक्ति) की दुर्गा सोब, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, उज्याले नेपालका गणेश घिसिङ र राजु थापासँग संवाद सुरु गरेका छन् । 

उनले वैकल्पिक राजनीतिक शक्तिले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भन्दै छलफल गरेको बताए । ‘जेन-जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका छलफल भयो,’ भट्टराईको सचिवालयले जनाएको छ । 

२०७३ मा माओवादीबाट अलग भई नयाँ शक्ति गठन गरेका भट्टराई पुराना दलले देशको समृद्धिका लागि नेतृत्व गर्न नसक्ने भन्दै वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेका छन् । उनले गठन गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गठन गरी दुर्गा सोबलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

कान्तिपुर

Link copied successfully