आन्दोलन अपराधीकरण हुने जेन-जी अगुवाको चिन्ता, फकाउँदै बाबुराम भट्टराई

‘हामीले लोकतन्त्र ल्याउने काम गर्यौं, तर सुशासन र समृद्धिको कार्य अधुरो रह्यो । अहिलेको जेन-जी आन्दोलनले त्यसलाई पूरा गर्ने जिम्मेवारी लिएको छ ।’-बाबुराम भट्टराई

कार्तिक २०, २०८२

दया दुदराज

Baburam Bhattarai allays concerns of Gen-G leaders about criminalization of protests

What you should know

काठमाडौँ — नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले बिहीबार बानेश्वरमा ‘जेन-जी अगुवाहरूसँग अन्तरसंवाद’ शीर्षकमा गरेको कार्यक्रममा जेन-जी आन्दोलनको सार, त्यसपछि देशको राजनीतिक दिशा र वैकल्पिक राजनीतिका सम्भावनाबारे छलफल भएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेता बाबुराम भट्टराईसहित पार्टीका शीर्ष नेताहरू र जेन-जी आन्दोलनका अगुवाहरूको उपस्थिति थियो।

समाजवादी पार्टीकी नेतृ तथा संवाद समितिका संयोजक मानुषी यमी भट्टराईले जेन-जी आन्दोलनको तारीफ गर्दै अबको दिशा तय हुनुपर्ने बताइन् । उनले नयाँ पुस्तासँग सहकार्य गरेर साझा वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताइन् ।

'जेन-जी विद्रोहले पुराना पार्टीहरूमाथि ठूलो प्रहार गरेको छ तर हाम्रो उपस्थिति हुँदाहुँदै तपाईंहरू सडकमा किन आउन बाध्य हुनुभयो भन्ने प्रश्न हामीले आत्मसमीक्षा गर्नुपर्छ,'उनले भनिन्,'यो आन्दोलनले हाम्रो समाज र राजनीतिमा नयाँ चेतना जगाएको छ। अहिलेको चुनौती भनेको यसलाई वैकल्पिक र दिगो राजनीतिक दिशामा रूपान्तरण गर्नु हो ।'

कार्यक्रममा सहभागी जेन-जी अगुवाहरूले राजनीति, सुशासन, टेक्नोलोजी र पारदर्शिताबारे आफ्ना धारणा राख्दै पुराना दलहरूले असफलता स्वीकार गरेर नयाँ पुस्ताको मार्गदर्शन र सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिए । जेन-जी मुभमेन्ट अलायन्सका प्रतिनिधि साकेन यामपु राईले आन्दोलनलाई वैधानिकता दिलाउन र यसको मागहरूलाई संस्थागत रूपमा अघि बढाउन सरकारले पहल गर्नुपर्ने बताइन् ।

Baburam Bhattarai allays concerns of Gen-G leaders about criminalization of protestsउनले आन्दोलनलाई अपराधीकरण हुनबाट जोगाउन यसलाई वैधानिक बनाउनु पर्ने बताइन् । उनले भनिन्, 'यो आन्दोलन कुनै व्यक्तिवादी होइन, सामूहिक चेतनाको नतिजा हो । यसलाई अपराधीकृत गर्न खोज्नु न्यायसंगत हुँदैन । यसलाई अपराधीकरण हुनबाट जोगाऔँ ।'उनले फागुन २३ को घटनामा ६ घण्टा पनि नकुरी मान्छेमाथि गोली चलाइएको र मानव अधिकारको गम्भीर हनन भएको भन्दै यसलाई सम्बोधन गर्न माग गरिन् ।

अर्का अगुवा माजिद अन्सारीले राईको भनाइमा समर्थन जनाउँदै आन्दोलनको नाममा अराजक भए पनि आगो लगाउने हातलाई समाउनुपर्ने तर जेन-जी आन्दोलनकारीलाई अपराधीकरण गर्न नहुने बताए । उनले जेन-जी विद्रोहका आन्दोलनकारीहरूलाई अपराधीकरण गरेर देशबाट आन्दोलनको ‘कल्चर’ हटाउने दुष्प्रयास भइरहेको बताए । उनले राज्यले अराजक तत्त्वहरूलाई ‘कन्फेसन’ गराउनुको सट्टा बदलाको भावना राखिरहेको जिकिर गरे ।

त्यस्तै अर्का अगुवा अर्णव चौधरीले पनि वर्तमान नेतृत्वले जेन-जीलाई ‘प्रोटेक्टेड ग्रुप’ को रूपमा हेर्न बन्द गर्नुपर्ने बताए । उनले भने-'हामीलाई प्रोटेक्टेड ग्रुपका रूपमा हेर्न बन्द गरौँ । हामीलाई तपाईंहरूले डिसिजन मेकिङ ग्रुपका रूपमा स्वीकार गर्नुपर्‍यो ।'

जेन-जी अगुवा हेम चौधरीले बेरोजगार युवाहरूले जीविकाका लागि काम गर्दा पनि बालुवा गिट्टी निकाल्न नपाउने जस्ता असंगत आदेशहरूले समस्या निम्त्याएको बताए। उनले देशको क्षमता पहिचान गरी टेक्नोलोजी र उद्योग क्षेत्रलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिए । एमआईटीमा टेक्नोलोजी अध्यायन गरी फर्किएका चौधरीले अर्थनीति र नीति निर्माणमा जेन-जी पुस्ताको आवाज समेटिनु जरुरी रहेको बताए । उनले भने, 'हाम्रो अर्थनीतिमा कोहेरेन्स छैन । राजनीतिक स्थिरता र उत्पादनमुखी नीतिबिना रोजगार र अवसर सिर्जना असम्भव छ।' उनले आर्थिक नीतिमा तल्लो तहसम्म समन्वय नभएको बताउँदै भने,'मान्छेहरू बेरोजगार छन्, तर आर्थिक एजेन्डा स्पष्ट छैन । राजनीतिक दलहरूले कृषि, उद्योग र प्रविधि क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ ।'

Baburam Bhattarai allays concerns of Gen-G leaders about criminalization of protestsजेन-जी अलायन्सका प्रतिनिधि अमित खनालले युवाहरूको राजनीतिक सहभागिता बढाउन निर्वाचन प्रणालीमै सुधार गर्नुपर्ने धारणा राखे । उनले निर्वाचन प्रणाली नै भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको रहेको भन्दै प्रत्यक्ष निर्वाचनमा उठ्न १० हजार र समानुपातिकमा ५० हजार धरौटी राख्नुपर्ने व्यवस्था नै गरिबहरूलाई राजनीतिबाट बाहिर राख्ने प्रयास भएको बताए । उनले भने, 'आजको निर्वाचन प्रणाली पैसाविना राजनीति गर्न नदिने गरी बनेको छ। समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीमा उम्मेदवार शुल्क घटाउनुपर्छ ।'

त्यस्तै अर्का अगुवा विकास रसाइलीले आन्दोलनलाई सामाजिक न्याय र पहिचानका सवालसँग जोड्दै अगाडि बढ्नुपर्ने बताए । उनले भने, 'जेन–जेड आन्दोलन कुनै फुट होइन, यो असंरचित तर स्वस्फूर्त आवाज हो, जसले देशको संरचनागत अन्याय र असमानतामा प्रश्न उठाएको छ ।' उनले जातीय, लैंगिक र आर्थिक असमानताका गहिरा अन्तरविरोधहरूलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने स्पष्ट पारे । 'नेपाली राजनीतिले अझै दलित, महिला र आर्थिक रूपमा पछाडिएका वर्गका मुद्दा प्राथमिकतामा राख्न सकेको छैन,' उनले थपे ।

Baburam Bhattarai allays concerns of Gen-G leaders about criminalization of protestsमजिद अन्सारीले पनि अस्थिरताको जरो बन्दसूचीमा आधारित समानुपातिक निर्वाचन प्रणाली भएको जिकिर गरे । उनले १६५ प्रत्यक्ष निर्वाचित क्षेत्रलाई कायम राखेर ११० समानुपातिक सिटलाई हटाउने र प्रत्यक्षतर्फ ४०% (वा ४९%) आरक्षण चक्रीय प्रणालीमा लागू गर्नुपर्ने प्रस्ताव गरे । उनले राजनीतिमा चन्दा धन्दा मोडल समाप्त पार्न एक व्यक्ति वा संस्थाबाट राजनीतिक दलहरूलाई एक वर्षमा ४० हजारभन्दा बढी चन्दा दिन नपाउने व्यवस्था कानुनमा राख्नुपर्ने सुझाव दिए । साथै, कर्मचारीतन्त्रको भ्रष्टाचार नियन्त्रण गर्न नायब सुब्बा वा अधिकृत लेभलदेखि प्रत्येक दुई वर्षमा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरे ।

बाबुरामको सुझाव :  सचेत रहनू

जेन-जी अगुवाहरूले आन्दोलन अपराधीकरण हुने त्रास व्यक्त गरिरहँदा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराईले भने आन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्राको 'चौथो खुडकिलो' का रूपमा व्याख्या गरे ।  उनले जेन-जी विद्रोहलाई हिजोका लोकतान्त्रिक आन्दोलनहरूको अपूर्णतालाई पूरा गर्ने नयाँ पुस्ताको विद्रोह भनेर व्याख्या गरे । भट्टराईले भने, ‘हामीले लोकतन्त्र ल्याउने काम गर्यौं, तर सुशासन र समृद्धिको कार्य अधुरो रह्यो । अहिलेको जेन-जी आन्दोलनले त्यसलाई पूरा गर्ने जिम्मेवारी लिएको छ ।’

भट्टराईले अघिल्ला आन्दोलनहरूलाई स्मरण गर्दै भने, ‘२००७, २०४६, २०६२/६३ का आन्दोलनहरूले क्रमशः उपनिवेश र राजतन्त्र हटाए, लोकतन्त्र ल्याए । अब २०८२ सालको यो आन्दोलनले सुशासन र समृद्धिको दिशा तय गर्नुपर्छ ।’

Baburam Bhattarai allays concerns of Gen-G leaders about criminalization of protestsपूर्वप्रधानमन्त्री भट्टराईले नयाँ पुस्तालाई विद्रोही मात्र होइन, ज्ञान र प्रविधिमा आधारित राजनीतिक पुनरसंरचनाका वाहकका रूपमा अघि बढ्न आग्रह गरे ।  ‘सन् १९९७ देखि २०१२ सम्मको तीव्र प्रविधिक, सामाजिक र चेतनागत परिवर्तनको कालखण्डमा जन्मिएको सोच हो,’ उनले भने, ‘यो पुस्ता डिजिटली हुर्किएको पुस्ता हो । जसरी समाज विकासको प्रत्येक चरणमा नयाँ चेतनाले पुरानो संरचना परिमार्जन गर्दै आएको छ, अहिले पनि त्यसै हुनुपर्ने बेला आएको हो ।’ 

त्यस्तै भट्टराईले संविधानका अपूर्णताका कारण देशमा सुशासन र आर्थिक समृद्धि हासिल नहुने तर्क गरे । उनले भने, ‘संविधान आधा भरिएको गिलास हो आधा खाली छ । त्यसलाई पूरा गर्न र संस्थागत सुशासन ल्याउन नयाँ पुस्ताको अग्रसरता जरुरी छ ।’उनले अहिलेको अन्तरिम सरकार र राज्य संयन्त्रमा पुरानो मानसिकता र अदृश्य शक्तिहरूको प्रभाव अझै विद्यमान रहेको बताउँदै जेन-जीलाई सचेत रहन आग्रहसमेत गरे । ‘पुरानो संरचना, पुराना ब्युरोक्रेसी र न्यायालयहरू परिवर्तन नभएसम्म नयाँ सोच लागू गर्न कठिन हुन्छ,’ उनले भने।

कार्यक्रममा सहभागी युवाहरूको प्रश्नको जवाफ दिँदै उनले नयाँ पुस्तालाई ‘ज्ञान, विनम्रता र जिज्ञासा’का साथ अघि बढ्न सुझाव दिए । ‘मानिसले जब सिक्न छोड्छ, त्यही दिन बूढो हुन्छ,’ भट्टराईले भने, ‘तपाईंहरूको विद्रोहको मूलमा नयाँ ज्ञान, नयाँ दृष्टिकोण र समावेशी सहभागितामूलक लोकतन्त्रको परिकल्पना हुनुपर्छ ।’

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully