जेन-जी विद्रोह असफलतातिर जाने संकेत देखिएको महासचिव चन्दको भनाइ
काठमाडौँ — कम्युनिस्ट पार्टी नेपालका महासचिव नेक्रवित्रम चन्दले जेन-जी आन्दोलनले अहंकारी सत्तालाई ढलाएको बताएका छन् । माओवादी सशस्त्र युद्ध लडेकाहरू अपमान भइरहेको बताएका छन् ।
‘जेन-जीले बलिदान दिएर अहंकारी सत्तालाई खरानी बनाइदिएको छ । जेन-जीलाई विशेष धन्यवाद दिनुपर्छ । म सलाम गर्दछु’ उनले काठमाडौंमा भएको विरोधसभामा भने, ‘जनयुद्धपछि परिवर्तन भएको थियो। गणतन्त्र आयो, जनयुद्धमा रगत बनाउनेलाई अपमान गरियो । किसानलाई अपमान गरियो । जनजातिको अधिकारलाई वास्ता गरिएन । मधेश, सर्वहारा श्रमिकहरू अधिकारका लागि लडे, बेवास्ता गरियो ।’
राज्य, बन्दुक, जेल छ भनेर मनपरी गरेपछि जेन-जी आन्दोलन विस्फोट भएको बताए । ‘पार्टीले नगरेको लाखौं जेन-जी सडकमा आए । अहंकारी सत्ता दुई दिन पनि टिकेन,’ उनले थपे, ‘भ्रष्टहरूको सत्ताविरुद्ध जसरी विद्रोह गरे । इतिहास नयाँ मोडतिर गयो । नेपाली संसदीय व्यवस्था असफल भयो ।’
उनले जेन-जी विद्रोह असफलतातिर जाने संकेत देखिएको भन्दै अधुरो कामलाई पूरा गर्नुपर्ने बताए । ‘जसरी जनयुद्धपछिको परिवर्तनलाई दलालले कब्जा गरे । त्यसरी विदेशी दलालले कब्जा गर्न खोज्दैछन्,’ उनले थपे ।
