नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन : उपसंयोजक नेपाल

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सामाजिक न्याय र समानताको लक्ष्यका लागि माओवादीसहितका दलहरूसँग पार्टी एकता गर्नुपर्ने उल्लेख गरे ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

The main problem of Nepali politics is corruption and misgovernance: Deputy Coordinator Nepal

काठमाडौँ — नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सामाजिक न्याय र समानताको लक्ष्यका लागि माओवादीसहितका दलहरूसँग पार्टी एकता गर्नुपर्ने उल्लेख गरे । वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी रहेको र नेताहरूमा इमान्दारी, त्याग तथा तपस्याको कमी रहेको उनको टिप्पणी थियो।

उपसंयोजक नेपालले भने, 'नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो, कुशासन हो। राजनीतिको अर्को ठूलो रोग आत्मकेन्द्रित चिन्तन हो। जिम्मेवारी पूरा नगरी पद ओगट्ने, ठूला ओहोदामा पुग्ने चाहना राख्ने तर जिम्मेवारी पूरा नगर्ने यो मुख्य समस्या हो। इमान्दारीको अभाव छ, त्याग–तपस्याको कमी छ। त्यसैले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्छ। नयाँ पुस्तामा विश्वास जगाउनुपर्छ।'

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउन, देश निर्माणका कमजोरी सुधार्न र समाजवादी मोर्चालाई सँगसँगै अघि बढाउन पार्टी प्रतिवद्ध रहेको बताए। उनले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित गर्न र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

कान्तिपुर

Link copied successfully